नेपाल जान पाइने भन्दै आजपनि गौरीफन्टा नाकामा जम्मा भए मजदुर

धनगढी : जिल्ला प्रशासन कैलालीले शुक्रबार र शनिबार गौरीफन्टा नाकामा जम्मा भएका तथा भारतीय क्वारेन्टाइनबाट पठाइएका नेपालीलाई भित्र्याएको छ। प्रशासनले उद्धार गरेपछि नेपाल जान पाइने भन्दै गौरीफन्टा नाकामा नेपाली मजदुर जम्मा हुने क्रम बढेको छ। 

आइतबार पनि भारतका विभिन्न शहरबाट आएर नेपालीहरु दशगजा क्षेत्रमा रोकिएका छन्। अहिले उनीहरुलाई भारतीय सीमा सुरक्षा बल (एसएसबि)ले नेपाल प्रवेशमा रोक लगाइ रोकेर राखेको छ। नेपालबाट नाका प्रवेशको अनुमति नभएको भन्दै एसएसबिले रोकेको गोदावरी नगरपालिका वडा नम्बर ४ बन्दागडाका भीम साउँदले दिनेश खबरलाई बताए। 

उनका अनुसार त्यहाँ कैलालीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला तथा सुदूरपश्चिम बाहिरका मजदुर जम्मा भएका छन्। साउँदले भारतमा लकडाउनका कारण खान बस्नको समस्या भएकाले स्वदेश फिर्ता भएको तर सीमा नाकामा रोकिएको भन्दै दुःख व्यक्त गरे। सीमामा रोकिए भोक–भोकै हुने भन्दै उनले उद्धारको माग समेत गरेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी उपरिक्षण दक्षकुमार बस्नेतका अनुसार अहिलेसम्म एक सय दुई जना सीमा क्षेत्रमा आएर जम्मा भएका छन्।

यता स्थानीय प्रशासनले भने उनीहरुलाई प्रवेशको अनुमति दिएको छैन्। जिल्ला प्रशासनले तत्काल सीमा नाकाबाट उद्धारका लागि कुनै निर्णय नभएको बताएको छ। 

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्