पृतनापति र सैनिक चिकित्सकलाई कोरोना संक्रमण देखिएपछि मध्यपूर्वी पृतना ब्यारेक ‘सिल’

ब्यारेकमा रहेका सबै सैनिक कर्मचारीको पीसीआर नमूना परीक्षणको रिपोर्ट नआउन्जेलसम्म कसैलाई पनि हिँडडुल गर्न रोक लगाइएको छ।

काठमाडौं। महोत्तरीको बर्दिवास नगरपालिकामा रहेको नेपाली सेनाको मध्यपूर्वी पृतनाको ब्यारेक ‘सिल’ गरिएको छ।

मध्यपूर्वी पृतनापती उपरथी र सेनाकै चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएपछि ब्यारेक सिल गरिएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले जानकारी दिए।

“सेनामा अनुशासन कडा नै हुन्छ। सर्वसाधारण जस्तै निगरानी गरिरहन पर्दैन”, उनले भने,“तर, पनि संक्रमणको जोखिम नियन्त्रण गर्न ‘सिल’ गरिएको हो।”

उनले त्यहाँ रहेका सबै सैनिक कर्मचारीको पीसीआर नमूना परीक्षणको रिपोर्ट नआउन्जेलसम्म कसैलाई पनि हिँडडुल गर्न रोक लगाइएको छ।

त्यस्तै ब्यारेकभित्र बस्ने हरेक सैनिक कर्मचारीलाई आवश्यक सुरक्षा अपनाउन र सामाजिक दूरीमा बस्न भनिएको छ।

मध्यपूर्वी पृतनाका प्रमुख उपरथी र स्वाब संकलनमा खटिने गरेका चिकित्सकलाई नै संक्रमण देखिएको हो।

“सुरक्षा निकायका उच्च अधिकारीहरू नै संक्रमण देखिनु यस प्रदेशमा चिन्ताको विषय हो”, सुरक्षा निकायका एक अधिकृतले भने-“अरुको तुलनामा उहाँहरूले धेरै सतर्कता अपनाइरहनु भएको हुन्छ। तर पनि संक्रमण भयो। त्यसैले प्रदेश २ मा जोखिम बढिसकेको छ।”

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो दिउँसो गरेको नियमित मिडीया ब्रिफिङका क्रममा महोत्तरीका ५२ वर्षीय र काभ्रेका २६ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको जानकारी दिएको थियो।

५२ वर्षीय मध्यपूर्वी पृतनाका पृतनापति हुन्। भने २६ वर्षीय पुरुष नेपाली सेनाका चिकित्सक हुन्।

उनीहरू दुवैजनालाई हिजो नै महोत्तरीबाट काठमाडौं ल्याएर सशस्त्र प्रहरी बलको बलम्बुस्थित अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको छ।

पृतनापती र चिकित्सकको कन्ट्याक्ट ट्रेसिङको कामसमेत शुरु गरिएको छ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्