ललितपुर महानगरपालिकाका जनप्रतिनिधिको कोरोना परीक्षण गरिँदै

महानगरपालिकाले २९ वटै वडाका १४७ जना जनप्रतिनिधिको पीसीआर टेस्टका लागि स्वाब संकलन गरेको छ।

ललितपुर। ललितपुर महानगरपालिकाका सम्पूर्ण जनप्रतिनिधिको पीसीआर विधिबाट कोरोना भाइरस परीक्षण गर्न स्वाब संकलन गरिएको छ। 

महानगरपालिकाले आज २९ वटै वडाका १४७ जना जनप्रतिनिधिको पीसीआर टेस्टका लागि स्वाब संकलन गरेको हो।

कोरोना भाइरस संक्रमणको आशंका लागेका मानिसहरूको जाँच गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट एक हजार ५० थान पीसीआर किट उपलब्ध भएपछि महानगरपालिकाले सबै जनप्रतिनिधिको पीसीआर टेस्ट गर्न लागेको हो। 

हिजो, ३ जेठमा महानगरका सबै स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूको पीसीआर र आरडीटी परीक्षण भएको थियो। 

महानगरपालिकाकी उपमेयर गीता सत्यालले हिजो स्वास्थ्यकर्मी र सफाइकर्मी गरी ११९ जनाको आरडीटी र २११ जनाको पीसीआर परीक्षण भएको बताइन्। 

महानगरको योजना अनुसार नै सबै जनप्रतिनिधिको पीसीआर प्रविधिबाट परीक्षण गर्न लागिएको उनले बताइन्। 

उपमेयर सत्यालले जनप्रतिनिधिसँगै, महानगरभित्र कार्यरत पत्रकार, फलफूल व्यवसायी, ग्यास डिलरहरूमा काम गर्ने व्यक्तिहरूको पनि पीसीआर र आरडीटी परीक्षण गर्न लागिएको बताए। 

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्