कोरोना कहरबीच बागलुङमा डेंगीकाे डर

धाैलागिरि अस्पतालमा उपचाररत जैमिनी नगरपालिका-८ की २३ वर्षीया युवतीमा हिजाे, २ जेठमा डेंगी लागेको पुष्टि भएको छ।

बागलुङ। कोरोना कहर मत्थर नहुँदै जिल्लामा देखिएको डेंगी संक्रमणले झस्काएको छ। डेंगी र कोरोना भाइरसबाट सँगैसँगै जोगिनुपर्ने भएको छ।

डेंगी ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेको टोकाइबाट सर्छ। धाैलागिरि अस्पतालमा उपचाररत जैमिनी नगरपालिका-८ की २३ वर्षीया युवतीमा हिजाे, २ जेठमा डेंगी लागेको पुष्टि भएको छ।  

“बिरामीमा शङ्कास्पद लक्षण देखिएपछि जाँच गर्दा डेंगीको संक्रमण भेटियो”, अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले भने। संक्रमित युवती गत २९ वैशाखमा अस्पताल भर्ना भएकी थिइन्।

युवतीको अवस्था स्थिर रहेको र थप जाँच गरिने प्रमुख चिकित्सक पोखरेलकाे भनाइ छ। उनले गर्मी बढेसँगै डेंगीकाे जोखिम थपिएकाले सावधानी अपनाउन सबैमा आग्रह गरेका छन्।

“लामुखुट्टेको टोकाइबाट बच्नु नै उत्तम उपाय हो, सुत्दा झुल टाँग्ने गरौँ, घर वरिपरि पानी जम्ने खाल्डाखुल्डी छन् भने पुरौँ”, उनले भने।

सो जातको लामखुट्टेले दिउँसो मात्र टोक्ने भएकाले बाहिर हिँडडुल गर्दा लामो बाहुला भएको लुगा लगाउन, पानी जम्ने पुराना भाँडाकुँडा, ड्रम, टायर आदिलाई घर छेउछाउ नराख्न सुझाव दिए।

स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले हिजाे फेला परेको संक्रमण यो वर्षको पहिलो भएको उल्लेख गरे। उनका अनुसार गत वर्ष जिल्लाका १० जना व्यक्तिमा डेंगी संक्रमण पुष्टि भएको थियो।

“संक्रमित भेटिएको ठाउँमा ‘खोज र नष्ट’ गर अभियान सञ्चालन हुँदैछ, सम्बन्धित स्थानीय तह र स्वास्थ्यचौकीसँग समन्वय भइरहेको छ”, प्रमुख गुरौले भने। लामखुट्टेको सम्भावित बासस्थानको खोजी गरी नष्ट गरिने उनको भनाइ छ।

उनले डेंगी फैलन नदिन घर तथा बसोबास क्षेत्रको सरफाइमा विशेष ध्यान दिनुपर्ने बताए। डेंगीविरुद्धको अभियानमा स्थानीय तहको भूमिका र पहल महत्त्वपूर्ण हुने प्रमुख गुरौको भनाइ छ।

स्वास्थ्य कार्यालयले गत वर्ष पनि सदरमुकामलगायतका ठाउँमा ‘माइकिङ’, सन्देशमूलक पर्चा वितरणदेखि सञ्चारमाध्यममार्फत् सचेतना जगाउने काम गरेको थियो।

डेंगीको परीक्षण सेवा धाैलागिरि अस्पतालमा मात्र उपलब्ध छ। शङ्कास्पद देखिएका व्यक्तिमा डेंगी परीक्षण हुँदै आएको छ।

डेंगी जाँचका लागि परीक्षण किटको अभाव नरहेको अस्पतालले जनाएको छ। चिकित्सकका अनुसार डेंगीको संक्रमणपछि एक्कासि उच्च ज्वरो आउने, रक्तश्राव हुने, टाउको, शरीर दुख्नेजस्ता लक्षण देखा पर्छन्।

डेंगीको खास उपचार नभएकाले लक्षणअनुसार औषधि चलाउने गरिन्छ। गत महीना छिमेकी जिल्ला म्याग्दीमा पनि डेंगी देखिएको थियो। रासस

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्