कोरोना संक्रमणको कुनै संकेत नदेखिएका युवकको तीन घण्टामै गयो ज्यान

आज बाँकेमा कोभिड-१९ का कारण ज्यान गुमाएका युवकमा संक्रमणको कुनै लक्षण देखिएको थिएन। तर, स्वास्थ्य बिग्रिन थालेको तीन घण्टामै उनको ज्यान गयो।

काठमाडौ। नेपालमा आज दोस्रो व्यक्तिको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ। बाँकेको नरैनापुरका २५ वर्षीय युवकको आज बिहान कोभिड-१९ बाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ।

उनी नेपालमा दुई दिनको अन्तरमा कोरोना संक्रमणबाट ज्यान गुमाउने दोस्रो व्यक्ति हुन्। १ जेठमा जेठमा मृत्यु भएको सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको कोरोना संक्रमणकै कारण मृत्यु भएको हिजो, ३ जेठमा पुष्टि भएको थियो।

आज कोरोना संक्रमणका कारण ज्यान गुमाएका बाँकेका युवक ३० वैशाखमा मुम्बईबाट बाँकेको सीमानाकामा आइपुगेका थिए।

लक्का जवान ती युवकमा संक्रमणका कुनै लक्षण देखिएका थिएनन्। सीमानामा पुगेका सुरक्षाकर्मीले उनीसहित अरु धेरैजनाको तापक्रम नापेपछि नरैनापुरको दिपेन्द्र प्राविमा निर्मित क्वारेन्टाइनमा ल्याएर राखेका थिए। त्यो क्वारेन्टाइनमा उनीसहित ६६ जनालाई राखिएको थियो।

“उनीहरूमध्ये १० जनालाई उच्च ज्वरो देखिएपछि १ जेठमा नै उनीहरूको नमूना संकलन गरिएको थियो”, नरैनापुर गाउँपालिकाका स्वास्थ्य संयोजक मोहम्मद मोइन खाँले भने, “तर, उनमा भने त्यस्तो लक्षण केही देखा परेको थिएन। सामान्य खोकी मात्रै थियो। त्यही भएर हामीले उनको स्वाबको नमूना लिएनौं।”

१ जेठमा उच्च ज्वरो देखिएका १० जनाको नमूना संकलन गरिएको थियो। तीमध्ये ६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। उनीहरूमा संक्रमण पुष्टि भएपछि आज मृत्यु भएका युवक लगायतको नमूना हिजो, ३ जेठ दिउँसो मात्रै संकलन गरिएको उनले जानकारी दिए। नमूना संकलन गर्दासम्म पनि ती युवकमा गम्भीर समस्या केही नदेखिएको उनी बताउँछन्।

बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर ५ का ती युवकलाई आज बिहान साढे ३ बजेतिर एक्कासी स्वास्थ्य समस्या देखिएको थियो। स्वास्थ्य संयोजक खाँका अनुसार उनलाई एक्कासी वाकवाकी लागेपछि वान्ता गर्न खोजेका थिए।

“वान्ता आउन खोज्ने तर, वान्ता गर्न नसक्ने भइरहेको थियो”, उनले भने, “तत्कालै स्वास्थ्यकर्मीहरूले जाँच गरेर औषधि दिए, तर उनले औषधि खान सकेनन्।”

साँझपख हल्का ज्वरो र झाडापखालाको समस्या भए पनि स्वास्थ्य गम्भीर हुनेगरी कुनै समस्या नभएको स्वास्थ्यकर्मीहरू बताउँछन्। तर, बिहानपख भने एक्कासी स्वास्थ्य बिग्रिएको उनीहरूको भनाइ छ। करीब दुई घण्टा जति निरन्तर वान्ता आउन खोज्ने तर, वान्ता गर्न नसक्ने समस्या भएपछि एम्बुलेन्सलाई खबर गरिएको थियो।

“एम्बुलेन्सलाई खबर गर्नेबित्तिकै क्वारेन्टाइनस्थलमा पुगिसकेको थियो”, उनले भने, “तर, अस्पताल लैजान नपाउँदै बिहान साढे ६ बजेतिर उनको मृत्यु भयो।”

क्वारेन्टाइनमा रहेका उनको मृत्यु भएपछि त्यहाँ रहेका अन्य व्यक्तिहरूलाई अन्यत्र सारिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि स्वास्थ्यमा गम्भीर समस्या देखिएका युवकको आज बिहान ६ बजेर ४० मिनेटमा मृत्यु भएको पुष्टि गरेको छ।

मृत्यु भएपछि हिजो संकलन गरिएको उनको स्वाबको नमूना परीक्षण तत्काल गरिएको थियो। नमूना परीक्षणमा कोरोना पोजिटिभ देखिएको हो।

योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ पुगेको छ। 

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्