लगातार आठौं उपाधिको होडमा बायर्न म्युनिख

सिजनको शुरूमा लय भेट्टाउन संघर्ष गरेको बायर्न लगातार आठौंपटक उपाधि जित्ने लक्ष्यमा छ।

काठमाडौं। बास्केटबल र हकी ऐरनाहरू बन्द छन्। टेनिस कोर्टहरू सफा भएका छन्। मोटर स्पोर्टस‍्का सर्किटहरू शान्त छन्।

क्रिकेट मैदान खेलाडीको स्पर्श कुरेर बसेका छन्। कोरोना भाइरसको तीव्र फैलावटले खेलकुद क्षेत्रलाई ‘पज’ गरिदियो। ठूला साना सबै प्रतियोगिता ठप्प भए। लाखौं मानिसको जीवनमा शून्यता ल्यायो।

यसैबीच झन्डै दुई महीनाको अन्तरालपछि ३ जेठबाट जर्मन बुन्डेसलिगा शुरू भएको छ। यसले केही आशा किरण उजागर गरेका छन्।

विश्व खेलप्रेमीको ध्यान जर्मनीमा केन्द्रित भएको छ। शीर्ष श्रेणीको दुई लिगमा गरी हिजाे लिगका १० खेल भए। आज बुन्डेसलिगामा दुई तथा बुन्डेसलिगा-२ मा चार खेल हुँदैछन्।  

बुन्डेसलिगामा जर्मन महारथी बायर्न म्युनिख युनियन बर्लिनको भ्रमणमा निस्केको छ। सिजनको शुरूमा लय भेट्टाउन संघर्ष गरेको बायर्न लगातार आठौंपटक उपाधि जित्ने लक्ष्यमा छ। एक खेल कम खेलेको बायर्नले दोस्रो स्थानको बोरूसिया डर्टमण्डलाई एक अंकले पछाडि छाडेको छ।

हिजाे सम्पन्न खेलमा डर्टमण्डले साल्केमाथि ४-० को सानदार नतिजा निकालेको थियो। जितसँगै डर्टमण्डले बायर्नसँगको दूरी एक अंकमा छोट्याएको थियो। कोभिड-१९ को जोखिम भएका कारण हिजाेको खेलमा केही फरक दृश्य देखिएको थियो। जर्मन फुटबल लिगले क्लबहरूलाई स्वच्छता तथा स्वास्थ्य सुरक्षा मार्गनिर्देशन कडाइका साथ पालना गर्न निर्देशन दिएको छ।

त्यसैले रंगशालाभित्र मात्र होइन बाहिरको माहोल पनि शान्त थियो। सुनसान थियो। खेलाडीहरू मास्क लगाएर बसेका थिए। खेलअघि दुई प्रतिस्पर्धी टीमका खेलाडी तथा रेफ्री र प्रशिक्षकले एकआपसमा हात मिलाएनन्। छुँदा पनि छोएनन्। सकेसम्म टाढै बस्ने प्रयास गरे। खेलाडीले गोल गरेर ‘सेलिब्रेसन’ गरेनन्। आज पनि त्यो भन्दा माहोल फरक हुने छैन।

फरक बायर्न आफ्नो दबदबा कायम राख्न चाहन्छ भने यसै सिजन बुन्डेसलिगामा बढुवा भएको युनियन बर्लिन घरेलु मैदानको फाइदा लिँदै शीर्ष डिभिजन लिगमा आफ्नो अस्थित्व स्थापित राख्न चाहन्छ।

बायर्नले पछिल्लो ११ खेलमध्ये १० मा विजय हासिल गरेको छ। बायर्नको पछिल्लाे जित घरेलु मैदानमा औसबर्गविरूद्ध थियो। जुन खेल ८ मार्चमा खेलिएको थियो। त्यसअघि साल्के भ्रमणमा बायर्नले ०-१ को नतिजा निकालेको थियो। त्यसैले ७० दिनपछि बायर्नका खेलाडी पहिलोपटक अवे खेलका लागि बाहिर निस्कँदैछ।

‘‘यो महत्त्वपूर्ण सिजनमा अब ९ खेल बाँकी छ। आशा छ टीमले अहिलेको परिस्थतिमा घुलमिल हुनेछ र आफ्नो क्षमताको प्रदर्शन गर्नेछ’’, बायर्नका प्रशिक्षक हान्सी फ्लिकले भने, ‘‘उनीहरू भर्खरै बढुवा भए पनि मानसिकरूपमा बलियाे टीम छ। हामी आक्रामकभन्दा पनि सजक भएर खेल्नेछौं।’’

त्यसअघि बायर्नले अवे खेलमा होफिनहेइमलाई जर्मन कपको क्वार्टरफाइनलमा ०-६ तथा च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा चेल्सीलाई ०-३ पराजित गरेको थियो। त्यसै बायर्न उच्च लयमा छ। बायर्नले लिगमा ३३ अंकको खेलमा ३१ अंक जोडेको थियो।

ठिक युनियन बर्लिनको हालत छ। जर्मन कपमा लेभरकुसेनसँग ३-१ ले पराजित भएको थियो भने फ्रेइबर्गसँग ३-१ ले हारेको थियो। २५ खेलबाट ३० अंक जोडेको युनियन बर्लिन १२औं स्थानमा छ। जुन रेलिगेशन क्षेत्रको टीमभन्दा सात अंकले मात्र माथि छ।

‘‘पक्कै पनि बायर्न अहिले जर्मनीको उत्कृष्ट टीम हो। त्यसले यस खेलमा उनीहरू बलिया छन्। उनीहरूलाई हराउन सजिलो छैन। तर, हामी आफ्नो क्षमतामा केन्द्रित हुन्छौं र त्यसलाई पूर्णरूपमा मैदानमा कार्यान्वयन गर्ने प्रयास गर्नेछौं। उत्कृष्ट प्रदर्शन गर्दै अंक जोड्ने प्रयास गर्नेछौं’’, युनियन बर्लिनका प्रशिक्षक युरस फिस्चरले भने।

आजै रेलिगेशनबाट बच्न संघर्ष गरिरहेको मेन्ज ०५ ले दशौं स्थानको कोलनविरूद्ध प्रतिस्पर्धा गर्दैछ। मेन्ज ०५ रेलिगेशनबाट बच्न संघर्ष गरिरहेको छ। मेन्ज ०५ले २५ खेलबाट २६ अंक जोडेको छ। जुन रेलिगेशन क्षेत्रको टीमभन्दा तीन अंकले मात्र माथि छ। कोलन भने २५ खेलबाट ३२ अंक जोडेको छ। जुन मेन्ज ०५ भन्दा ६ अंकले मात्र माथि हो।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्