नेपालमा कोभिड-१९ बाट दोस्रो व्यक्तिको मृत्यु

बाँकेको क्वारेन्टाइनमा मृत्यु भएका युवकमा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयद्वारा पुष्टि

स्वास्थ्य अवस्था असामान्य बनेपछि अस्पताल लैजान नपाउँदै आज बिहान मृत्यु भएका युवकको कोरोना संक्रमणकै कारण मृत्यु भएको पुष्टि भएको छ।

काठमाडौं। बाँकेको नरैनापुर गाउँपालिकाका एक युवकको कोरोना भाइरस संक्रमणकै कारण मृत्यु भएको पुष्टि भएको छ। 

उनी नेपालमा कोभिड-१९ बाट  मृत्यु हुने दोस्रो व्यक्ति हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिले भर्खरै यसको पुष्टि गरेको छ।

गाउँपालिकाको- ५ नम्बर वडामा बनाइएको  क्वारेन्टाइनमा बसेका २५ वर्षीय युवकको स्वास्थ्य अवस्था असामान्य बनेपछि अस्पताल लैजान नपाउँदै आज बिहान मृत्यु भएको थियो।

हिजो, ३ जेठ साँझ नै उनको स्वाबको नमूना संकलन भइसकेको थियो। आज आएको परीक्षणको नतिजामा उनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो। 

भारतको मुम्बईबाट आएका उनलाई ३० वैशाखमा गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको थियो।

यसअघि नेपालमा पहिलोपटक १ जेठमा सिन्धुपाल्चोकी २९ वर्षीया महिला कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको हिजाे ३ जेठमा पुष्टि भएको थियो।

उनको धुलिखेल अस्पतालमा मृत्यु भएको  थियो। 

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्