भारतबाट फर्किएका ४५ जना क्वारेन्टाइनबाटै भागे

कपिलवस्तु – यशोधरा गाउँपालिकास्थित स्वास्थ्य निगरानीमा रहेका ४५ जना क्वारेन्टाइनबाटै भागेका छन् ।

यशोधरा गाउँपालिकामा रहेका दुईवटा क्वरेन्टाइनबाट उनीहरु भागेका हुन् । वडा नं. २ को खोरिया गाउँस्थित सरस्वती प्रावि क्वारेन्टाइनका २३ जना र राष्ट्रिय निमावि सिहोखोर क्वारेन्टाइनका २२ जना भागेको वडाध्यक्ष साबुद्दिन मुसलमानले बताए ।

भारतका विभिन्न सहरबाट आएका सबैलाई क्वारेन्टाइनमा नराखिएका कारण आफूहरु पनि क्वारेन्टाइन नबस्ने भन्दै उनीहरु भागेको गाउँका स्थानीयले बताए । क्वारेन्टाइनबाट भागेका सबै वडा नं. ८ खोरिया गाउँका हुन् ।

भागेका उनीहरुको खोजी गर्न मर्यादपुर प्रहरी चौकी र विओपी डंगरीका सुरक्षाकर्मीहरु खोरिया गाउँसम्म पुगेका छन् । यशोधरा गाउँपालिकामा हालसम्म फेला परेका संक्रमितहरु १२ जनामध्ये वडा नं. ८ का ५ जना छन् । भारतको कोरोना प्रभावित सहर मुम्बइ लगायत सहरबाट आएका युवाहरु क्वारेन्टाइनबाट भागेपछि खोरिया गाउँ र आसपासका सर्वसाधारणहरुमा कोरोना संक्रमण फैलनसक्ने त्रास बढेको गाउँपालिकाका स्वास्थ्य संयोजक ज्योती प्रकाश दुवेले बताए ।

यसबारे आफूहरुले गाउँपालिका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई जानकारी गराइसकेको स्वास्थ्य संयोजक दुवेले बताए । क्वारेन्टाइनबाट भागेकाहरुको खोजी गरी क्वारेन्टाइन फर्काउन सुरक्षाकर्मीहरुसँग समन्वय भइरहेको गाउँपालिका प्रमुख गिरिजेश पाण्डेयले बताए ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्