नीति तथा कार्यक्रम कोभिड-१९ को चुनौतीमा अल्झिने होइन: विष्णु पौडेल

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलले राज्य कोभिड-१९ ले सिर्जना गरेको चुनौतीमा अल्झिएर बस्न नहुने टिप्पणी गरेका छन् ।

सोमबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले राज्य सुझबुझ, साहस र वस्तुनिष्ठ योजनाका चुनौती सामना गर्ने र आर्थिक-समाजिक जीवनलाई गतिशील बनाउने संकल्पका साथ अघि बढ्नुपर्ने बताए ।

‘नीति तथा कार्यक्रम कोभिड(१९ ले सिर्जना गरेको चुनौतीमा अल्झिएर बस्ने होइन, त्यसलाई सुझबुझ, साहस र वस्तुनिष्ठ योजनाका साथ सामना गर्ने, आर्थिक(सामाजिक जीवनलाई गतिशील बनाउने, विकास, समृद्धि र सामाजिक न्याय हासिल गर्ने र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने संकल्पका साथ प्रस्तुत भएको छ’ उनले भने ।

सरकार र समग्र राज्य प्रणाली प्रकृति वा मानव सिर्जित साना वा ठूला घटना, दुर्घटना वा चुनौतीबाट विचलित हुन नमिल्ने भन्दै पौडेलले सरकारले जस्तोसुकै संकटको पनि सामना गर्न र राष्ट्र तथा जनताको आधारभूत आवश्यकता पूरा गर्न सकिन्छ भन्ने आत्मविश्वास राख्नुपर्ने बताए ।

सिङ्गो विश्व नै कोभिड १९ को रोकथाम, नियन्त्रण र उपचारमा केन्द्रित भए पनि राज्य आफ्ना आधारभूत अभिभाराबाट विमुख हुन नसक्ने पौडेलले बताए ।

नीति तथा कार्यक्रम कोभिड(१९ नियन्त्रण गर्ने र स्वास्थ्य, शिक्षा, कृषि, उद्योग र रोजगारीका क्षेत्रमा लगानी केन्द्रित गर्ने, थप क्षति हुन नदिने र अर्थतन्त्रलाई गतिशील तुल्याउने संकल्पका साथ आएको उनले टिप्पणी गरे ।

‘मितव्ययिता अपनाउने, फजुल खर्च रोक्ने, सुशासन प्रवर्द्धन गर्ने र उत्पादन वृद्धि तथा रोजगारी सिर्जनामा केन्द्रित हुने अठोटका साथ आएको छ’ उनले भने ।

हेर्नुहोस् पौडेलले प्रतिनिधिसभामा व्यक्त गरेको मन्तव्यको पूर्णपाठ

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्