‘हामीले नचिनेको फुटबल’

बर्लिन — फुटबल भनेपछि हुरूक्क हुनेका लागि जर्मनीले शनिबार खुसी उपहार दिएको छ भन्दा हुन्छ । किनभने बन्द रंगशालामै सही, मैदानमा फुटबल त फर्केको छ । कोरोना भाइरस संक्रमणको महामारीका कारण पूरा विश्वमा फुटबल रोकिएको स्थिति थियो । यसैक्रममा जर्मनी फुटबल फर्केको पहिलो ठूलो खेलको देश पनि रह्यो । तर यो फुटबल रह्यो, हामीले नचिनेको, यसअघि हामीले नदेखेको । कस्तो रह्यो त पहिलो दिनको खेल ? एएफपीले तयार पारेको रिपोर्ट ।

हल्यान्डले राखे सामाजिक दूरी

अचेल इर्लिङ ब्रट हल्यान्डलाई फुटबलको भाषामा ‘वन्डर किड’ भन्ने गरिन्छ । यिनै खेलाडीले जर्मनीमा दुई महिनापछि फर्केको फुटबलको पहिलो गोल गरे । थोरगन हेजार्डको लो–क्रसलाई उनले गोलमा परिणत गरे, खेलले लगभग आधा घण्टा छोएको बेला । उनी भर्खर १९ वर्षका भए । उनले जम्माजम्मी बुन्डेसलिगामा ९ खेल खेलेका छन् । तर उनले गरेको गोलसंख्या १० पुगेको छ । त्यसको मदतले बोरुसिया डर्टमन्डले साल्के ०४ माथि सजिलै ४–० को जित रच्यो ।

अरू बेला भए खुसीले उनलाई अन्य खेलाडीले आफ्नो अँगालोमा बेरिसक्थे । तर हल्यान्ड सचेत थिए, त्यसैले उनले आफ्ना साथीसँग दूरी कायम राख्न बिर्सेनन् । आखिर खेल सुरु गर्ने सर्तमै यस्तो आचारसंहिता तयार पारिएको थियो । यो नियम नै भने थिएन ।

साल्केले छिरायो ५ सब्स्टिच्युट

डर्टमन्डमा भएको त्यो खेलमा साल्केले ५ सब्स्टिच्युट खेलाडी मैदान उतारेको थियो । महामारीबीच सुरु यस फुटबलमा ५ अतिरिक्त खेलाडी प्रवेश गर्न पाउने नियम थियो । यसक्रममा साल्के ५ अतिरिक्त खेलाडी प्रयोग गर्ने पहिलो टिम बन्यो । यसका लागि प्रशिक्षक डेविड वाङगरले खेल सकिन तीन मिनेटअगाडि टिमो बेकरले एभरटनबाट ऋणमा आएका जान्जोए केनीलाई सब्स्टिच्युट गरे । तर साल्केले लुसियन फाभरेको टिमलाई गोल गर्नबाट भने रोक्न सकेन । उनी आफैंले पनि चार सब्स्टिच्युट खेलाडी प्रयोग गरे । हल्यान्डको सुरुआती गोलपछि राफेल गुरेरोले दुई गोल गरेका थिए । उनी खेलका म्यान अफ द म्याच पनि रहे ।

खेलको अन्त्यतिर उनकै स्थानमा मार्सेल स्मुलेजर मैदान छिरे । उनी बने टिमले प्रयोग गरेको चौथो सब्स्टिच्युट । महिनाको अन्तरमा फुटबल हुन लागेको हुनाले लामो समय खेल्दा खेलाडी चोटग्रस्त हुन सक्ने सम्भावनाबीच ५ अतिरिक्त खेलाडी मैदान प्रवेश गर्न पाउने नियम भएको हो, यसैपल्टका लागि मात्र ।

डगआउटमा मास्कम्यान

खेलका क्रममा अहिलेसम्म कहिल्यै नदेखिएका केही दृश्य पनि देखिए । पहिलो त दर्शकदीर्घा खाली खाली थियो । नत्र, जर्मनीमा रंगशाला पूरा भरिनु सामान्य जस्तै हो । क्लबका समर्थकले यसपल्ट घरमै बसेर खेल हेरे, टीभीको माध्यमबाट । अतिरिक्त खेलाडी र पदाधिकारी रहेको डगआउटको दृश्य पनि कम्ता दुर्लभ थिएन । जति खेलाडी त्यहाँ थिए, सबै मास्क लगाएर बसेका थिए । मैदानबाहिर रहेका खेलाडीले मास्क लगाउनुपर्ने त आचारसंहिता नै बनाइएको थियो । अझ साल्केका अतिरिक्त खेलाडी त सामाजिक दूरी कायम राखेर बसे ।

अग्सवर्गका समर्थकको दुःख

पूरा विश्वका फुटबलप्रेमी खुसी थिए, फेरि एकपल्ट फुटबल सुरु भएकामा । त्यो पनि दुई महिनापछि । तर अग्सवर्गका समर्थक भने फेरि फुटबल सुरु भएको दुःखी थिए । अझ उनीहरूले त अहिलेको नाजुक स्थितिमा किन फुटबल खेलाउनुपरेको हो भनेर प्रश्न पनि गरे । दर्शकबिहीन रंगशालामा तिनै समर्थकले ब्यानर पनि राखे । त्यसमा लेखिएको थियो, ‘फुटबलले जीवन दिन्छ, तर सबै बिरामी व्यवसायमै छन् ।’

यता खेलमा पनि अग्सवर्ग उल्भ्सवर्गको हातबाट २–१ ले पराजित रह्यो । यो हारले क्लबको रेलिगेसन तनाव अझ बढेको छ ।

कृपया सफा बल

जर्मनीमा फुटबल सुरु गर्न अगाडि सरकारले बनाएको एउटा नियम थियो । खेलका क्रममा नियमित अन्तरमा बल सफा गरिरहनुपर्छ, भाइरसको संक्रमणबाट टाढा राख्न । यस्तै पोस्ट म्याच अन्तर्वार्ताका क्रममा पत्रकार र खेलाडीबीच पनि दूरी कायम गरिएको थियो । बल सफा गर्न भने केहीलाई मैदानमा खटाइएको थियो र तिनका हातमा पञ्जा थिए । यी विशेष काम पाएकाको जिम्मेवारी थियो, नियमित अन्तरमा बल ‘डिस्इन्फेक्टेड’ गर्ने ।

डर्टमन्डलाई सजिलो, लेप्जिगलाई गाह्रो

डर्टमन्डले लिग उपाधिको होडमा आफ्नो सम्भावना जीवन्त राख्न पनि सफल रह्यो । जितपछि डर्टमन्डले शीर्षस्थानको बायर्न म्युनिखसँगको दूरी १ अंकमा छोट्याएको छ । खेल सुरु हुनुअगाडि तेस्रो स्थानमा रहेको लेप्जिगले भने फ्रेइबर्गसँग १–१ को बराबरी खेल्यो । बायर्नको ५५ अंक छ । यस्तै डर्टमन्डको ५४ र लेप्जिगको ५१ अंक भएको छ ।

यस्तोमा बराबरी खेल्नु लेप्जिगका लागि महँगो साबित भयो नै । दिनका सबै खेल सकिँदासम्म लेप्जिग चौथो स्थानमै झरेको थियो । किनभने बोरुसिया मोन्चेनग्लाडब्याचले दिनको अन्तिम खेलमा इन्ट्राक्ट फ्रान्कफर्टलाई ३–१ ले हरायो । यो जितपछि मोन्चेनग्लाडब्याचको ५२ अंक भयो र तेस्रो स्थानमा उक्लन सफल रह्यो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्