महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाटा नगरपालिका–८ स्थित पिल्लरीफाँटाका स्थानीयले श्रमदानमै गाँउघर स्वास्थ्य क्लीनिक भवन निर्माण कार्य सुरु गरेका छन् ।
गत माघमा वडा कार्यालयले भवन निर्माणका लागि उपभोक्ता समिति गठन गरेको भएपनि हालसम्म निर्माण कार्य सुरु भएको थिएन् । समिति गठन भएको लामो समयसम्म काम सुचारु नभएपछि शनिबारबाट स्थानीयले काम सुरु गरेका हुन् ।
स्थानीय समाजसेवी तिलक जप्रेलले समितिले काम नगरपछि स्थानीयले नै श्रमदानमै निर्माण कार्य अगाडी बढाएको बताए । उनका अनुसार स्थानीयले दैनिक तीन सिफ्ट गरि भवन निर्माण कार्य सुरु गरेका छन् । करिब पाँच सय परिवार रहेको शुक्लाफाँटाको दुर्गम बस्ती पिल्लरीफाँटाका दुई सय जना स्वास्थ्य क्लीनिक निर्माणमा जुटेका छन् ।
‘वडा कार्यालयले बजेट विनियोजन गरि समिति निर्माण गरेको थियो, हालसम्म पनि काम सुरु भएन्’ स्थानीय समाजसेवी जप्रेलले भने ‘गाँउमै स्वास्स्थ्य संस्था नहुदाँ समस्या हुने गरेको छ, समितिले काम नगरपछि आफै मिलेर काम गरिरहेका छौँ ।’ भवन निर्माणका लागि स्थानीय नरेन्द्र विष्टको अध्यक्षतामा उपभोत्ता समिति निर्माण गरिएको छ । गत वर्ष पनि नगरपालिकाले उक्त भवन निर्माणका लागि बजेट विनियोजना गरे पनि काम हुन सकेको थिएन् ।
त्यस्तै वडाध्यक्ष बहादुर सिंह महाराले बजेट विनियोजन गरिए पनि समितिले काम नगर्दा निर्माण कार्यमा ढिलाई भएको बताए । उनका अनुसार क्लीनिक निर्माणका लागि वडा कार्यालयले २ लाख बजेट विनियोजन गरेको छ ।
‘समग्र वडाको विकासका लागि हरेक टोलको योजनबद्ध विकास निर्माणका योजना बनाएका छौँ ।’ वडाध्यक्ष महराले भने ‘तर कतिपय ठाउँमा सरोकारवालाको सहयोग नपाएर पनि बाधा व्यवधान सिर्जना भएको छ ।’
भवन निर्माणका लागि उपभोक्ता समिति निर्माण गरिएको बताउँदै समितिले काम नगर्दा वर्षेनी बजेट फ्रिज जाने गरेको उनको भनाई छ । साथै भवन निर्माणका लागि बेला–बेलामा उपझोक्ता समितिलाई ताकेता गर्दा समेत भोली–भोली भन्दैँ टारेको उनको दावि छ ।
साथै भवन निर्माण कार्यमा भएको ढिलाईबारे समितिसँग बुझ्न खोज्दा पदाधिकारसँग सम्पर्क हुन सकेन् ।