गौरीफन्टा नाकाबाट ८५८ नागरिकलाई नेपाल भित्र्याइयो

लकडाउनकैबीच भारतबाट स्वदेश फर्किन लागेका नेपाली नागरिक आफ्नै ‘देशको ढोका’ बन्द भए पछि सीमामै अलपत्र परेका छन् । नेपाल–भारत सीमामा अलपत्र परेका नेपाली नागरिकको उद्धार गर्ने क्रम समेत जारी छ ।

कैलालीको गौरीफन्टा नाकाबाट बुधवार राती ८ सय ५८ जना नेपाली नागरिकलाई नाका प्रवेश गराइएको छ । तर स्वास्थ्य परिक्षणका रुपमा ‘ज्वरो मापन’ मात्रै गरिएको छ ।

भारतका विभिन्न सहरबाट मजदुरी गरी फर्किन लागेका मानिसलाई उद्धार गरेर सम्बन्धित स्थानीय तह पठाइएको जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत तथा सूचना अधिकारी शिवराज जोशीले बताए ।

‘उद्धार त गरियो तर स्वास्थ्य परीक्षण गर्न सकिएन, किट अभावका कारण आरडिटी परीक्षण समेत भएन, ज्वरो मापन गरेर नाका प्रवेश दिएका छौँ ।’ सूचना अधिकारी जोशीले भने ।

उनका अनुसार बुधवार नाका प्रवेश पाएकामध्ये झण्डै पाँच सय भन्दा बढि मानिसलाई सम्बन्धित स्थानीय तह पठाइएको छ । बाँकी तीन सय जना नेपाली नागरिकलाई नवदुर्गा माध्यमिक विद्यालयको क्वारेन्टिनमा राखिएको छ ।

‘उद्धार गरिएका केहीलाई उनीहरुको ठाउँका लागि पठाइएको छ , केहीलाई क्वारेन्टिनमा राखिएको छ, उनिहरुलाई पनि सम्बन्धि ठाउँमा नै पठाउने तयारी भइरहेको छ ।’ सूचना अधिकारी जोशीले भने ।

उद्धार पश्चात् सम्बन्धित ठाउँ पठाइएकाहरुलाई स्थानीय तहले बनाएको क्वारेन्टिनमा अनिवार्य राखी स्वास्थ्य परीक्षण पछि घर पठाइने प्रशासनले जनाएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्