बन्दका प्रेमीको चाहाना-कविता

नेपाल संस्कृत विश्वविद्यालयका लेक्चरर हरिप्रशाद खतिवडाले शार्दूलविक्रीडित छन्दमा रचना गर्नु भएको कविता यस्तो छ ।

के गर्दै दिन बित्तछन् नि सँगिनी एक्लो पना भै गयो ।
आऊने मनमा थियो अति ठुलो इच्छा उसै रै गयो ।।
हिँड्ने तर्खरमा थिएँ उसविचै आशा उसै गै गयो ।
सारा बन्द भई यतै रहिगएँ लक्डाउनै भै गयो ।।१

इच्छा खूब थिए मिठा र रसिला बार्ता लिई आउने ।
सारा ती अधुरै उसै रहिगए चिन्ता सबै ल्याउने ।।
हप्तामा खुलिजान्छ बन्द त भनी आशा गरेको थिएँ ।
बढ्दै गो जब बन्द ता सहरमा दुःखी हुँदै पो गएँ ।।२

सारा मित्रहरू सबै घर गए ती सन्तती साथमा ।
आफ्ना प्रेयसि माझमा पुगिगए चिन्ता हटाई जहाँ ।।
एक्लै यो घरको बसाइ हुन गो चिन्ता त्यसै ल्याउने ।
एक्लैमा किन हो मलाई अति नै यादै तिमी आउने ।।३
फोनैमा जब भन्छ बालक तहाँ बाबा छिटो आउनु ।
खेलौना र मिठाइ भाइकन ता गाडी पनि ल्याउनु ।।
पत्नीका पनि माग छन् थरिथरी सारा अपूर्णै रहे ।
बन्दैले सबका त शोचहरूका आशा अपूरै रहे ।।४

आशा त्यो मनमा लिएर तिमीले काट्दै गरेका दिन ।
औँलामा तिमीले गनेर जब ती घट्दै गरेका दिन ।।
लामो श्वास लिई खुसी अतिभई आशा गरेको पल ।
आयो कष्टकरै बनी नजिकमा पछ्याई गर्दै छल ।।५

कोठामा जब बस्न पुग्दछु तहाँ एक्लो पनामा रही ।
सारा यो दुनियाँ बिरानु किन हो लाग्ने मलाई त्यही ।।
केही भुल्छ भनेर त्यो मनमहाँ फोटाहरू हेर्दछु ।
घट्नूको बदला अधीर हुन गै झन् शोकमा पर्दछु ।।६

हे प्यारी ! सँगिनी मलाइ अहिले दोषै नलाऊ कति ।
सारा दुःख भुलेर जानू सबमा चिन्ता नगर्नू रति ।।
सारा कष्टहरू सबै फगत हुन् जान्छन् अवश्यै पनि ।
आशा उच्चलिई सदा अघि हुनू ती पूर्ण हुन्छन् पनि ।।७

आफ्ना सन्ततिको बिचार गरनु आशा सुनौलो लिई ।
बाआमा अनि भाइबैनीहरुको सेवा र माया लिई ।।
पक्कै यो नववर्ष उर्वर भई आओस् यही चाहना ।
हे प्यारी सब चाहना अघि बढून् गर्छु यही कामना ।।८
जगत भर चलेको बन्दको यो प्रभाव ,
मनविच घुमिआए प्रेमका ती बहाव ।
कनिकुथिकन केही पस्किएँ यो सबैमा ,
कटुपनि यदि लागे हात जोडेँ सबैमा ।।९

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्