महिला जनप्रतिनिधिमा पनि कोरोना संक्रमण भएको पुष्टि

भक्तपुर : स्वास्थ्य मन्त्रालयले शुक्रबार राति कोरोना संक्रमण पुष्टि भएकी भक्तपुरकी महिला नगरपालिकाकी जनप्रतिनिधि रहेको खुलेको छ। उनी भक्तपुर नगरपालिका-९ की जननिर्वाचित महिला सदस्य रहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

परिसरका प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानले भक्तपुर नपा- ९ सूर्यमढी निवासी उनलाई पाटन अस्पताल लगिएको जानकारी दिए। उनका अनुसार संक्रमितको घर समुदायबाट छुट्टिएकोले घरलाई मात्रै सिल गरिएको छ। संक्रमितको सम्पर्कमा आएकाहरुको पहिचान (कन्टाक्ट ट्रेसिङ) गर्ने कार्य भइरहेको प्रहरी उपरीक्षक प्रधानले सुनाए।
‘उहाँ (संक्रमित) जनप्रतिनिधि रहनुभएकाले कन्टाक्ट ट्रेसिङ गर्न चुनौतीपूर्ण रहेको छ’, उनले थपे, ‘उहाँ स्वास्थ्य स्वयंसेविका पनि भएकाले वडामात्रै नभएर नगरभर क्रियाशील भएको पाइएको छ।’

संक्रमित स्वास्थ्य स्वयंसेविका भएकाले अहिले उनको स्वास्थ्य सामान्य रहेको बुझिएको छ। काठमाडौं महानगरपालिकाका सफाइ मजदुरहरुको द्रूत परीक्षण विधि (आरडीटी) कोरोना परीक्षणमा पोजिटिभ आएपछि भक्तपुर नपाले पनि आरडीटी विधिबाट आफ्ना कर्मचारी, सफाइ मजदुर तथा जनप्रतिनिधिहरुको कोरोना भाइरस परीक्षण गरेको थियो। नपाले आफ्नै जनस्वास्थ्य केन्द्रमा गरेको उक्त परीक्षणमा एक वडा सचिव र अर्को महिला सफाइ मजदुरको रिपोर्ट पोजिटिभ आएको थियो।

करिब पचास जनाको परीक्षणमा दुईजनाको पोजिटिभ आएपछि आरडीटी परीक्षण स्थगित गरेर पीसीआर परीक्षणको लागि जनस्वास्थ्य केन्द्रले नै स्वाब संकलन गरेर टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाएको थियो। करिब एकसय २५ जनाको नमुना पठाइएकोमा शुक्रबार पहिलो चरणमा नपाकी नर्स महिलाको रिपोर्ट पोजिटिभ आएको हो।

वडा सचिव र सफाइ मजदुरको पीसीआर नेगेटिभ

यसअघि संक्रमित जनप्रतिनिधिकै वडा कार्यालयका सचिवको द्रूत परीक्षण विधि (आरडीटी) रिपोर्ट पोजिटिभ आएको थियो। ती वडा सचिवसँगै आरडीटी पोजिटिभ आएकी भक्तपुर नपा ५ निवासी सफाइ मजदुरको पीसीआर रिपोर्ट भने नेगेटिभ आएको प्रहरी उपरीक्षक प्रधानले जानकारी दिए।

भक्तपुरमा समुदायमै पुग्यो कोरोना

भक्तपुर नपाकै जनप्रतिनिधिमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएपछि भक्तपुर कोरोना भाइरस संक्रमणको उच्च जोखिममा परेको छ। नगरपालिकाभित्रै क्रियाशील हुँदै आएकी महिला जनप्रतिनिधिमा समुदायबाटै कोरोना भाइरस संक्रमण भएको हुन सक्ने अनुमान गरिएको छ।

उनकै वडा कार्यालयमा काम गर्ने सचिवको आरडीटी पोजिटिभ भएर पीसीआर नेगेटिभ हुनु भक्तपुरमा समुदायस्तरमा कोरोना भाइरस संक्रमण भइसकेको हुनसक्ने प्रहरी उपरीक्षक प्रधान बताउँछन्।
‘समुदायमा क्रियाशील हुँदै आउनभएका जनप्रतिनिधिमा कोरोना भाइरस संक्रमण हुनु समुदायमा कोरोना भाइरसको उपस्थिति भएको हाम्रो अनुमान छ’, उनले भने, ‘उहाँ (महिला जनप्रतिनिधि) समुदायबाट संक्रमित भएको अनुमान गरेका छौं। उहाँबाट समुदाय थप संक्रमण फैलिएको हुनसक्ने सम्भावना पनि उत्तिकै छ।’

भक्तपुरमा संक्रमितको संख्या चार

महिला जनप्रतिनिधिसँगै भक्तपुरमा संक्रमितको संख्या चार पुगेको छ तर शुक्रबार नै भक्तपुरमा पहिलोपटक कोरोना भाइरस संक्रमण पुष्टि भएका महिला स्वास्थ्य कर्मचारी र सशस्त्र प्रहरी जवान डिस्चार्ज भएका थिए। ती दुवै भक्तपुरका स्थानीय भने थिएनन् तर शुक्रबार संक्रमण पुष्टि भएकी महिला जनप्रतिनिधि र काठमाडौं महानगरपालिकाको सफाइ गाडीका पुरुष चालक भने स्थानीय हुन्।
 महिला जनप्रतिनिधि भक्तपुर नपा -९ र सफाइ गाडी चालक भक्तपुर नपा- ५ योसिंखेलका निवासी हुन्। सफाइ गाडी चालकको घर क्षेत्र भक्तपुर नपा -५ योसिंखेल र त्यहाँका ३५ घरमा गरिएको सिल खुलेको छैन। संक्रमितको घरपरिवारका १२ जनाको कोरोना भाइरस परीक्षण गरिएको छ। तर रिपोर्ट नआइसकेको प्रहरी उपरीक्षक प्रधानले जानकारी दिए।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्