गाडी चढ्ने पैसाले मेयरले सुरु गरे पुल निर्माण

सर्लाही- सर्लाहीको हरिवन नगरपालिकाका मेयर गणेशप्रसाद प्रसाईंले कार्यालय प्रयोजनका लागि गाडी किन्न छुट्याइएको बजेटले पक्की पुल निर्माण सुरु गरेका छन् ।

हरिवन नगरपालिका–८, चापिनी खोलामा झण्डै १ करोड बजेटले पुल निर्माण गर्न शुक्रबार शिलान्यास गरिएको छ । आर्थिक वर्ष २०७६र०७७ मा कार्यालय प्रयोजनका लागि मेयर र उपमेयरले प्रयोग गर्ने सवारीसाधन किन्ने बजेटबाट पुल निर्माण सुरु गरिएको हो । प्रदेश सरकारबाट आएको २५ लाख रुपैयाँ तथा नगरपालिकाले गाडी किन्न छुट्टयाएको गरी जम्मा ९९ लाख ३ हजार लागतमा पुन बनाउन सुरु गरिएको मेयर प्रसाईंले जानकारी दिए ।

कौवा, कोठीखोला, सखुवनीलगायत टोलका वासिन्दाले चापिनी खोलामा पक्कीपुल नहुँदा हरेक वर्षायाममा दैनिक उपभोग्य सामग्री किनमेलका लागि बजार आउन जान तथा नगरपालिका कार्यालयमा आउनसमेत निकै कठिनाइ व्यहोर्दै आएका छन् । पुल निर्माण भएपछि झण्डै तीनसय घरधुरी लाभान्वित हुने कौवा टोलका अगुवा खेम भण्डारीले जानकारी दिए । आफू चढ्ने गाडी किन्न छुट्टयाइएको बजेटबाट पुल निर्माणको काम सुरु गरेर नगरपालिकाका मेयरले सह्रानीय कार्य गरेको भन्दै भण्डारीले आभारसमेत प्रकट गरे ।

कोरोना भाइरस संक्रमणबाट जोगाउन मुलुकमा लकडाउन भएपनि पुल शिलान्यास कार्यक्रममा भने कुनै परवाह नगरी दर्जनौं स्थानीय स्वतःस्फूर्त उत्रिएका थिए । स्थानीयले मेयर प्रसाईं, उपमेयर रेणुका पौडेल, वडा नं. ८ का वडाध्यक्ष यज्ञविनोद ढुंगेललगायतलाई फुलमाला नै लगाएर भव्य स्वागत गरेका थिए । वर्षौंदेखि हरेक वर्षायाममा खोलामा बढी आउनबित्तिकै यताका यतै र उताका उतै बस्नुपर्ने बाध्यता टार्नेगरी पुल निर्माण सुरु भएकाले गाउँलेमा साह्रै खुसी छाएको कौवा घर भएकी वडा सदस्य धनमाया विकले बताइन् ।

‘विशेषगरी हरेक वर्षायाममा विद्यालय जाने बालबालिकाले चापिनी खोलामा पुल नहुँदा पढ्न लेख्नबाट बञ्चित हुने गरेको सुनेपछि मैले आफू चढ्ने जिप किन्ने बजेट यो पुल निर्माणका लागि छुट्टयाएको हुँ,’ मेयर प्रसाईंले भने, ‘पुल निर्माण सम्पन्न भएपछि बाढी आएकै कारण व्यहोर्नुपर्ने सास्तीबाट यस क्षेत्रका नगरबासी, विद्यार्थी लगायतले मुक्ति पाउनेछन् ।’

नगरपालिकाका ईन्जिनियर जकी अहमद सिद्धिकीका अनुसार वैशाख २१ गतेबाट १५० दिनभित्र पुल निर्माण सम्पन्न गर्नेगरी ठेकेदारसँग सम्झौता गरिसकिएको छ । पक्की पुल १६ मिटर लम्बाइ तथा ४.२५ मिटर चौडाइ रहने छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्