दलित युवाको हत्या प्रकरणः ‘गाउँलेले आक्रमण गरेपछि भेरीमा हाम फाल्यौँ’

जाजरकोट- शनिबार बेलुका नवराज विकका लागि केटी भगाउन गएका थियौं। केटीको घरमा नपुग्दै गाउँलेले आक्रमण गरे।

लखेटीलखेटी कुटपिट गरे, चारैतिर घेरेपछि हामीले भेरीमा हाम फाल्यौं’, भेरी नगरपालिका ४ का सुदीप खड्काले भने, ‘पूरै गाउँ उर्लेर आएका थिए, ठकुरीकी छोरी लिन खोज्ने साले डुमहरू भन्दै कुटपिट गरे। मलाई पनि कुटे, मरे पनि मरुँला भनेर भेरीमा हाम फालें।’

शनिबार राति रुकुमपश्चिममा भएको घटनामा पौडी खेलेर बाँचेका उनले स्थानीयले नदीको वारीपारी घेरा हालेर आक्रमण गरेको बताए। चौरजहारी मिसन अस्पताल उपचार गराएर सोमबार घर आएका उनले भने, ‘आफ्नै ज्यान कसरी जोगाउने भन्ने भयो, साथीको अवस्था के भो थाहै भएन।’ सँगै गएका भेरी नगरपालिका ४ का सरोज भडेलले पनि भागेर ज्यान जोगाएको बताए। उनले भने, ‘गाउँ पुग्नेबित्तिकै गाउँ नै उर्लेर आयो, तिनका हातमा चिर्पट र हसिया पनि थियो।’

एकाएक आक्रमण भएपछि भागेको बताउँदै उनले भने, ‘ज्यान बचाउन कोही नदीमा हाम फाले, कोहीलाई त समातेर कुटपिट गर्दै थिए। मैले भागेर ज्यान जोगाएँ, घटनापछि प्रहरीले हामीलाई नै समातेर चौरजहारी लिएर गयो।’ अन्य सातलाई कुटपिट गरेर गाउँलेले भेरीमा फालिदिएको उनको आशंका छ।

रुकुमको चौरजहारी नगरपालिका ८ सोतीमा शनिबार बेलुका भएको घटनामा बेपत्ता भएका ६ मध्ये थप एकको शव सोमबार भेरीको किनारमा फेला परेको छ। भेरी नगरपालिका ४ का गणेश बुढाको शव फेरा खोलानजिक भेरी किनारमा फेला परेको हो। योसँगै उक्त घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ।

यसअघि चौरजहारी नगरपालिकाका १ का टीकाराम सुनार र जाजरकोट भेरी नगरपालिका ४ का नवराज विकको शव फेला परिसकेको छ। भेरी नगरपालिका ११ का लोकेन्द्र सुनार, गोविन्द शाही, ४ का सन्दीप विक अझै बेपत्ता छन्।

बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ। नवराजकी प्रेमिका चौरजहारी नगरपालिका ८ सोतीकी १७ वर्षीया सुस्मा मल्ललाई बेहुलीका रूपमा भित्रयाउन शनिबार पुगेका बेला वडाध्यक्ष डम्बरबहादुर मल्लसहित सोतीका गाउँलेले आक्रमण गर्दा उनीहरूको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

केही घाइते र सँगै गएकाले पूरै गाउँ नै उर्लेर आएको र घेरा हालेर कुटपिट गरी ६ जनालाई भेरीमा फालिदिएको बताएका छन्। घटनापछि चौरजहारी नगरपालिका ८ का वडाध्यक्ष डम्बरबहादुर मल्ल, केटीका (बुबा) वीरबहादुर मल्ल र आमा प्रकाशी मल्ल, नवराजकी प्रेमिका सुष्मा मल्लसहित १५ जनालाई नियन्त्रणमा लिएको छ।

सोतीका एक स्थानीयका अनुसार जाजरकोटबाट केटाहरू आएका थाहा पाएपछि गाउँमै भलिबल खेलिरहेका युवा र खानेपानीसम्बन्धी बैठकमा बसेका युवा, महिला र अन्य पुरुष आक्रमण गर्न गएका थिए। तल्लो जातको केटाले ठकुरीकी छोरी भगाउन खोजेको भन्दै आक्रमण गरी भेरीमा फालिदिएकोे प्रत्यक्षदर्शीको भनाइ छ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्