निकिताको ‘रानीमहल’


काठमाडौं – फिल्म निर्माताको नजर मिस नेपाल विजेता उपर नपर्ने कुरै भएन। अन्ततः सन् २०१७ की मिस नेपाल विजेता निकिता चण्डक उपर पनि निर्माताको नजर परेर दुई वर्षअघि निर्माण प्रक्रिया सुरु भएको थियो, फिल्म ‘रानीमहल’। तर आन्तरिक विवादका कारण फिल्मको छायांकन अगाडि बढ्न सकेन। करिब २० प्रतिशत छायांकनपछि रोकिएको फिल्म ‘रानीमहल’ को टिजर अन्ततः दुई वर्षपछि बल्ल रिलिज भएको छ। फिल्मको प्रदर्शन भने टुंगो छैन।

‘रानीमहल’ फिल्मबाट पूर्व्मिस नेपाल निकिता फिल्म क्षेत्रमा प्रवेश गर्ने तयारीमा थिइन्। तर, यो फिल्मको छायांकन रोकिएपछि उनले ‘साङ्लो’ फिल्ममा काम गरिसकेकी छन्।

लकडाउनपछि फिल्मको बाँकी छायांकन सकेर फिल्म रिलिज गर्ने तयारी निर्माण पक्षले गरेको हो। हिमाल न्यौपानेको निर्देशन, विमल भुसालको निर्माणमा बन्दै गरेको फिल्ममा निरज कँडेलको छायांकन, सम्राट महर्जनको सम्पादन, दीपक पौडेलको पटकथा तथा संवाद, हिमाल केसीको एक्सन, राहुल शाह र रामजी लामिछानेको कोरियोग्राफी छ।

फिल्ममा निकिताका अतिरिक्त पृथ्वीराज सेञ्चुरी, साहिल श्रेष्ठ, मानस्वी खरेल, नीर शाह, बीएस राणा, दीपक क्षेत्रीलगायतका कलाकारको मुख्य भूमिका छ। टिजरमा पाल्पाको रानीमहलको दृश्यसँगै यी सबै कलाकार देखिन्छन्। यस बीचमा फिल्मका कलाकार दीपक क्षेत्री र बीएस राणाको निधन भइसकेको छ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्