चर्चित गीतकार रत्नशम्शेर थापाको निधन

काठमाडौँ — ख्यातीप्राप्त गीतकार रत्नशम्शेर थापाको निधन भएको छ । बिहीबार साढे ११ बजे थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको अस्पतालले जनाएको छ । थापाका साडु भाई शिव आचार्यका अनुसार ८२ वर्षीय थापालाई श्वास फेर्न अप्ठ्यारो भएपछि हिजो अस्पताल भर्ना गरिएको थियो ।

कुकुर डोर्‍याउने क्रममा केही समयअगाडि थापा चिप्लिएर लडेका थिए । नशा च्यापिएपछि गत वर्षको माघ २८ गते महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उनको अपरेसन गरिएको थियो । त्यसयता उनी घरमै आराम गरिरहेका थिए ।

थापाका छोरा रुपेन्द्र समशेरका अनुसार उनलाई नर्भिकको आइसोलेसनमा राखिएको थियो । उनको स्वाब संकलन गरेर कोरोना परीक्षणका लागि पठाइएको छ । यसको नतिजा नआइन्जेल उनको शव अस्पतालमै राखिने रुपेन्द्रले बताए ।

थापाद्वारा रचित ‘जाग लम्क चम्क हे…’, ‘ठट्टैमा यो वैंस जान लाग्यो…’, ‘घुम्तीमा नआउ है…, ‘उकारी ओरालो गर्दै…’ लगायतका दर्जनौं गीत लोकप्रिय छन् । नारायण गोपालले गाएका सुरुवाती गीतहरु उनले नै लेखेका थिए । थापाका श्रीमती र २ छोरा छन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्