विदेशमा अलपत्र परेका नेपालीलाई उद्धार गर्ने सरकारको निर्णय

कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई स्वदेश फर्काउने निर्णय गरेको छ । अर्को साताबाट उनीहरूलाई स्वदेश फर्काउने निर्णय भएको एक सदस्यले जानकारी दिए । करिब ६ लाख नेपाली स्वदेश फर्कने अनुमान उच्चस्तरीय समितिको छ ।

विदेशबाट ल्याइएका नागरिकलाई प्रदेशगत रूपमा छुट्याएर क्वारेन्टाइनमा राखी घर पठाउन सातै प्रदेशमा एक(एकजना संघीय सरकारका मन्त्रीलाई जिम्मा दिइएको छ । ती मन्त्रीले नै आफ्नो जिम्मेवारीभित्रका जिल्ला र स्थानीय तहसँग समन्वय गर्नेछन् ।

संघीय सरकारले प्रदेश १ मा भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङलाई संयोजनको जिम्मेवारी दिएको छ । त्यस्तै प्रदेश २ मा श्रममन्त्री रामेश्वर राय, बागमतीमा महिला बालबालिकामन्त्री पार्वत गुरुङ, गण्डकीमा भूमि व्यवस्थामन्त्री पद्मा अर्याल, प्रदेश ५ मा ऊर्जामन्त्री वर्षमान पुन, कर्णालीमा वनमन्त्री शक्ति बस्नेत र सुदूरपश्चिममा उद्योगमन्त्री लेखराज भट्टले संयोजन गर्नेछन् ।

बैठकले स्वदेश फर्कन चाहने नेपालीको सूची तयार पार्न परराष्ट्र मन्त्रालयलाई भनेको छ । यस सम्बन्धमा मुख्यसचिव नेतृत्वको कार्यदलले अन्तिम प्रस्ताव तयार पार्ने निर्णय भएको ती सदस्यले बताए ।

एक साताअघिको मन्त्रिपरिषद्को बैठकले विदेशमा अप्ठ्यारोमा रहेका नेपालीलाई स्वदेश फर्काउने नीतिगत निर्णय गरेको थियो ।

प्रदेश र स्थानीय तहले पनि स्वदेश फर्कन चाहनेको सूची तयार गरिरहेका छन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्