एमसीसी अनुमोदन गर्ने/नगर्ने जिम्मा संसदलाई, हाल यसका सबै काम स्थगित गर्ने नेकपाको निर्णय

काठमाडौँ १७ जेठ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संसदमाबाट अमेरिकन सहयोग मिलेनियम कर्पोरेसन च्यालेन्ज (एमसीसी) अनुमोदन नहुँदासम्म सबै काम रोक्ने जनाएको छ।

नेकपा सचिवालयको शनिबार बिहानको बैठकले संसदबाट एमसीसी अनुमोदन हुने नहुने निर्णय नहुँदासम्म मिलेनियम च्यालेन्ज एकाउन्ट, नेपाल (एमसीए नेपाल) अन्तरगतका काम अहिलेलाई स्थगित गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

श्रेष्ठले बजेटमा प्रस्तुत अनुसूचीमा राखिएको एमसीसीको योजनाको बारेमा आवश्यक स्पष्टताका लागि सचिवालय बैठकमा छलफल भएको बताए। ’एमसीसी सम्झौताको प्रस्ताव अहिले संसदमा विचाराधीन छ, त्यसैले बजेटको त्यो व्यवस्था पनि त्यस अन्तरगत नै हुनेलाई स्पष्ट पारियो।’

उनले भने, ’प्रधानमन्त्रीले संसदलाई जानकारी गराउनु भए अनुसारनै एमसीसी सम्झौता संसदबाट अनुमोदन भएको खण्डमा त्यस अनुसार हुने र यदि अनुमोदन गरेन भने सरकारले आवश्यक वैकल्पिक व्यवस्थाबारेमा सोचेर अगाडि बढ्ने कुरा नै अर्थमन्त्रीले स्पष्ट पार्नुभएको छ। र संसदमा पनि त्यसै अनुसार स्पष्ट पार्ने जानकारी गरिएको छ।’

सचिवालय बैठकले एमसीसी सम्झौता संसदबाट पारित नभए बजेटमा समावेश अनुसूचीबाट यसलाई हटाइने निष्कर्ष निकालेको छ। एमसीसी समग्र सम्झौताको बारेमा पार्टीले गठन गरेको कार्यदलले प्रतिवेदन बुझाइसकेकाले त्यस प्रतिवेदनलाई अध्ययन गरेर छिट्टै सचिवालयको बैठकमा गम्भीर छलफल गरि निष्कर्षमा पुग्ने श्रेष्ठले उल्लेख गरे। उनले अध्यक्षद्वयले छलफल गरेर बैठकको मिति तय गर्ने जानकारी दिए।

बैठकमा सचिवालयका ९ सदस्यसहित परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री डा. युवराज खतिवडा र स्थायी कमिटी सदस्य भीमबहादुर रावलसमेत सहभागी थिए। यस अगाडि नेकपाको केन्द्रीय समिति बैठकमा एमसीसीबारे चर्को विरोध भएपछि एमसीसीबारे अध्ययन गर्न कार्यदल गठन गरेको थियो।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्