‘यो जालझेलको सहर हो प्रिय’


काठमाडौं – ‘एकै चोटले’ बोलको वियोगान्त कथामा उनले गरेको अभिनय होस् वा कम्मरमै गाग्री बोलको गीतमा छमछमी नाचेकी दृश्य होस् उषा खनालको अभिनयमा विविधता देखिन्छ। उनी कहिले फिल्मकी धोकेवाज प्रेमिका बन्छिन् त कहिले आत्मविश्वासी पात्र। उनलाई नाचिरहन मनपर्छ। केही न केही काम गरिरहनु पर्छ।

अभिनयको भोक सानैदेखिको हो। दाङमा जन्मिएकी उनी नाचेरै जिल्लास्तरीय कार्यक्रममा विजेता बन्थिन्। कहिले स्कुलका साथी मिलेर सडक नाटक देखाउँदै हिँड्थे त कहिले गाउँमै समूह बनाएर सांगीतिक कार्यक्रम आयोजना गर्थे।

उषाले विशेषतः वियोगान्त गीतहरूमा अभिनय गरेकी छन्। प्रेममा डुब्ने र धोका पाउने युवा वर्गको प्रतिनिधित्व हुने भएकाले पनि आफ्नो अभिनयले धेरैको कथा समेट्ने उनको विश्वास छ। रोनाधोना गरेको अभिनय आफूलाई सुट गरेको जस्तो लाग्छ उनलाई। फ्यान तथा दर्शकले पनि उनलाई बिछोडका गीतमा हेर्न चाहन्छन्।

करिब ६ वर्ष अगाडि निर्देशक शिव विकले दसैंको गीतमा भिडियो बनाएका थिए। उक्त गीतमा उषाले पहिलो पटक क्यामेरा फेस गरेकी हुन्। यो गीतले उनलाई अभिनयको संसारमा ल्यायो। हुन त कामकै सिलसिलामा धेरै ठक्कर पनि खाइन् उनले। कहिले निर्माता निर्देशकको गिद्धेदृष्टिमा पर्थिन् त कहिले कामको बहानामा अनेक कुरा सुन्न पथ्र्यो।

तर उनले उनले आत्मविश्वासका साथ सही बाटो छोडिनन्। छोटो बाटो हिँडेर काम पाइन्छ भन्नेमा विश्वास गरिनन्। भन्छिन्, अभिनयको भोकले घर छाडेर हिँडेकी थिएँ। निकै कठिन अवस्था थियो सुरुआतमा। धेरै रात त रोएरै बितेको थियो। घरमा कसैले सहयोग नगरेको अवस्थामा त मूल बाटोमै हिँड्ने आँट गरें। अब त एउटा आफ्नै गन्तव्य पहिल्याएको छु। छोरी चेली नाच्नु हुन्न, अभिनयमा लाग्न हुन्न भन्ने समाजबाटै आएकी हुँ म। मभन्दा अघि त्यो गाउँमा कोही पनि कलाकारितामा आएका थिएनन्। यसैले पनि केही राम्रो गरेर देखाउने चुनौती थियो।

उषाले ‘बदलेकी आग’ शीर्षकको भोजपुरी फिल्मबाट ठूलो पर्दामा डेब्यु गरेकी हुन्। यसपछि उनले अभिनय गरेका ‘बीचबाटो’ र ‘लाले’ नामक फिल्म सार्वजनिक भइसकेका छन्। उनको अभिनयमा रहेका केही फिल्म र म्युजिक भिडियो रिलिजको पर्खाइमा छन्। ७०र८० वटा गीतको भिडियोमा अभिनय गरेकी उषा पछिल्लो समय आफ्नै समूह बनाएर केही नयाँ खुराक पस्कने तयारीमा छिन्।

निकै धेरै मेहनत गर्नुपर्ने पेसाको रूपमा उनले कलाकारितालाई बुझेकी छन्। अप्ठ्यारोका बीच काम गर्ने हिम्मत राख्नेहरूले सफलता पाउने उनको अनुभव छ। भन्छिन्, ‘म्युजिक भिडियोमा काम गर्दा कतिले त अहिलेसम्म पारिश्रमिक पनि दिएका छैनन्। सकभर पेल्न खोज्छन्। अभिनय गरेर हिँड्नेलाई सकारात्मक सोच्ने मानिस निकै कम छन् समाजमा। अझ पनि सोचेजस्तो काम गर्न पाएको छैन।’

विश्वलाई चिनाउने राजदूतका रूपमा कलाकारले जीवनभर काम गर्ने भएकाले पनि उनलाई यो क्षेत्र प्यारो लाग्छ। कला, गला, क्षमता र हिम्मत हुनु प¥यो जो कोहिले सफलता पाउन सक्ने बताउँछिन् उनी। भन्छिन्, ‘मेहनत गर्नु जरुरी छ। धैर्य प्रमुख विशेषता हो। जालझेल धेरै हुने सहर हो यो। तर काम र लगाबले नै आफूलाई बनाउने हो।’

उनी निरन्तर म्युजिक भिडियो खेलिरहेकै थिइन्। चार वर्ष अगाडि म मरेर के भो बोलको आधुनिक गीतमा उनले सानदार अभिनय गरिन्। भर्खरै विवाहबन्धनमा बाँधिएका जोडी बाध्यतावश बिछोडिनु परेको, मरेर जानु परेको श्रीमतीको भूमिकामा गरेको अभिनयले उनलाई चर्चा दिलायो। गीत संगीतको क्षेत्रमा उनको खोजी हुन थाल्यो।

प्रेमको मामलामा खुल्ला विचारकी उषा आफूलाई अहिले सिंगल नै बताउँछिन्। हुन त अक्सर कलाकारले आफ्नो सम्बन्धका बारेमा खुलेर कुरा गर्न चाहन्नन्। स्कुले जीवनमै प्रेममा परेकी उनी अहिले भने कामलाई माया गर्ने बताउँछिन्। भन्छिन्, ‘प्रेम महसुस हो। यो त्यति धेरै ठूलो चिज पनि होइन र सानो भनेर बेवास्ता गर्न पनि सकिन्न। यो मनले महसुस गर्ने विशेष अनुभूति हो।’

आफूलाई बुझ्ने, कामलाई सम्मान गर्ने जीवनसाथीको कल्पना गरेकी उषा प्रेमले मानिसलाई ऊर्जा थप्ने बताउँछिन्। भन्छिन्, ‘प्रेमसँगै काम जोडिएर आयो भने मात्रै गन्तव्यमा पुग्न सजिलो हुन्छ। तर देखावटी सम्बन्धले हर मानिसलाई पछाडि धकेल्छ। बाटोमा हिँड्दै गर्दा कोही उपयुक्त सहयात्री भेटिन्छ भने अपनाउनुपर्छ तर प्रेमकै लागि सबथोक छोडेर हिँड्नु चाहिँ गलत हो।’

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्