७ प्रतिशतको आर्थिक वृद्धि भए राजनीति छाडिदिन्छुः जितेन्द्रदेव

काठमाडौँ १८ जेठ ।

नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले आगामी आर्थिक वर्षमा ७ प्रतिशतले आर्थिक वृद्धि हासिल गर्न सरकारलाई चुनौति दिएका छन्।

राष्ट्रियसभाको आइतबारको बैठकमा सांसद देवले आगामी आर्थिक वर्षमा ७ प्रतिशतले आर्थिक वृद्धि भए राजनीति नै त्याग्ने बताए। उनले भने ‘अहिले सबभन्दा ठूलो च्यालेन्ज भनेको देशमा इकोनोमिक क्रियाकलापलाई अगाडि बढाउनु पर्ने हो, एउटा आर्थिक पुनरुउत्थानको कामलाई अगाडि बढाउनुपर्ने हो, मेरो चुनौति छ नेपाल सरकार र अर्थमन्त्रीलाई यदि ७ प्रतिशतको जिडिपिको ग्रोथ रेट २०७७र०७८ मा भायो भने म राजनीति छोडिदिन्छु।’

बजेटमा सिमान्तकृत, विपन्न र गरिब नागरिकलाई नसमेटिएको उनले बताए। धेरै ठाउँमा जनताहरु खाना नपाएर भोकले ज्यान गुमाउनुपरेको उल्लेख गर्दै उनले भने ‘‘लकडाउनका कारण सप्तरी जिल्लामा मलरसदाले खान नपाएर भोकभोकै प्राण त्याग गर्‍यो। खान नपाएर भोक भोकै कीर्तिपुरको रोडमा सुर्यबहादुर तामाङ दाम्लो र डोको छातिमा राखेर प्राण त्याग गर्‍यो।

आज हजारौं लाखौं मलरसदा र सुर्यबहादुर तामाङ यो मुलुकमा छन्। त्यसको लागि राहत, त्यसको लागि सहयोग, त्यसको लागि बजेट खोई? कहाँ बजेट विनियोजन भएको छ त्यसको लागि। के त्यसको लागि बजेट विनियोजन हुनुहुँदैन थियो?’

उनले सरकारलाई गरिबमारा बजेट ल्याएको आरोप लगाए। लकडाउनको कारण आपूर्ति शून्य भएकाले कलोबजारी र विचौलियाको संख्या बढेको र कृत्रिम अभाव तथा महंगीलाई रोक्ने खालको बजेट नआएको उनको भनाइ छ।

कोरोना संक्रमणको जोखिम बढ्दै जाँदा पनि सरकारले ६ अर्ब मात्रै बजेट छुट्याएको भन्दै आपत्ति जनाए। पिसिआर परीक्षण गर्न समेत नपुग्ने बजेट आएको उल्लेख गर्दै उनले कोरोना रोकथामका लागि अझै बजेट बढाउनुपर्ने बताए।

कृषि क्षेत्रमा गतवर्ष भन्दा केही बजेट बढाइएको भएपनि मलखादमा ५ प्रतिशत र बिउबिजनमा १५ प्रतिशत कर बढाएर कृषि क्रान्ति नहुने उनको भनाइ छ।-सेतोपाटी

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्