भारतबाट आएका नेपाली बोकेको बस दुर्घटना: ११ जनाको मृत्यु, ६ यात्रु गम्भीर

काठमाडौँ १९ जेठ ।

कोरोना महामारीबाट बच्न भारतबाट फर्केका नेपालीलाई बोकेको बाँकेको नेपालगञ्जबाट दाङ आउँदै गरेको यात्रुवाहक माइक्रो बस (हाइस) दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी–२ स्थित जंगलमा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको प्रदेश प्रहरी प्रवक्ता एसएसपी राजकुमार बैदवारले बताए । दुर्घटनास्थल अगैयादेखि १३ किलोमिटर पश्चिममा पर्छ ।

नेपालगञ्जबाट दाङ हुँदै सल्यान जान लागेको ना५ख ५९९५ नम्बरको हाइस गाडी रोकिराखेको बा४ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा दुर्घटना भएको एसएसपी बैदवारले बताएका छन् । उनका अनुसार ११ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेहरूको पहिचान हुन सकेको छैन । दुर्घटनामा परी २१ जना घाइते भएका छन् । घाइतेको नेपालगञ्जमा उपचार भइरहेको छ ।

गाडीमा चालकसहित ३३ जना रहेको खुलेको छ । ६ जनाको अवस्था गम्भीर रहेको प्रवक्ता बैदवारले बताएका छन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्