जनता त्रिपालमुनी, मन्त्री निवासमा ८२ लाखको जिमखाना बनाईदैँ

काठमाडौँ २० जेठ ।

राजनीतिक बेथिति र आर्थिक विपन्नताले बिदेसिएका नागरिक महामारीका वेला घर फर्कँदा क्वारेन्टाइनका नाममा गोठमा राखिएका छन्, संकटको वेला फजुल खर्च नगर्ने नीति लिएको सरकारले मन्त्रीनिवासमा जिमखाना बनाउन लकडाउनकै बीचमा ठेक्का दिएको छ ।

कोभिडविरुद्ध संघर्ष गरिरहेको सरकारले अत्यावश्यकबाहेक खर्च नगर्न गत चैतमा नै निर्णय गरेको छ भने नीति तथा कार्यक्रममा पनि यही प्रतिबद्धता दोहो¥याएको छ । तर, यही वेला सरकारले मन्त्रीनिवासमा अत्याधुनिक जिमखाना बनाउन ८२ लाखको ठेक्का दिएको छ ।

लकडाउनकै समयमा राष्ट्रपति कार्यालयमा महँगो गलैचा फेर्न लागेको सहरी विकास तथा भवन निर्माण विभागले नै मन्त्रीहरूका लागि जिमखाना बनाउने प्रक्रिया अघि बढाएको हो । पुल्चोकस्थित मन्त्रीनिवासमै जिमखाना बनाउन विभागले शनिबार न्यु केपी कन्स्ट्रक्सन नामक कम्पनीलाई ठेक्का दिएको छ । कम्पनीले ८२ लाख ८७ हजार ३२ रुपैयाँ ६ पैसामा यो काम सम्पन्न गर्नेछ ।

स्पोर्टस् तथा जिम मेसिनसहितको हेल्थ क्लब सञ्चालन गर्ने भवन भने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले यसअघि नै निर्माण गरिसकेको छ । जिमका लागि केही सामान पहिले नै खरिद गरिसकिएको छ । थप सामानका लागि नयाँ ठेक्का प्रदान गरिएको हो ।

यही संकटको वेला सो कार्यालयले मन्त्रीनिवासमा रङरोगनको काम पनि गर्न लागेको छ । त्यसका लागि देवीस्थान निर्माण सेवा एन्ड सप्लायर्सलाई २८ लाख ५५ हजार नौ सय ५३ रुपैयाँमा ठेक्का स्वीकृत गरिएको छ ।

जब कि मन्त्रीहरूका लागि सुविधासम्पन्न निवास भैँसेपाटीमा बनाउन सहरी विकास विभागले नै प्रक्रिया अघि बढाइसकेको छ । तर, पुरानै निवासमा हेल्थ क्लब निर्माणदेखि सजावटमा रकम खर्च भइरहेको छ ।

तर, सरकारी अधिकारी भने यो खर्च आवश्यकताका आधारमा हुन लागेको बताउँछन् । ‘यो अनावश्यक खर्च होइन, आवश्यक भएकोले नै बनाउन लागिएको हो,’ संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका प्रमुख कुमारप्रसाद घिमिरेले भने । यो समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्