गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७५ पुग्यो

२४ जेठ, पोखरा । गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार स्याङ्जामा १०, कास्की र पूर्वीनवलपरासीमा ३–३ जना तथा बागलुङमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्याङ्जाको वालिङ नगरपालिकामा १६ देखि ५४ वर्षसम्मका ८ जना पुरुष र हरिनास नगरपालिकामा १८ र ४० वर्षका दुई जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

कास्कीको रुपा गाउँपालिकाका २३ र ३२ वर्षका पुरुष तथा पोखरा महानगरपालिकाका ५९ वर्षका पुरुष कोरोना संक्रमित भएका छन् ।

नवलपरासीको बर्दघाट सुस्ता पूर्वको विनय त्रिवेणी गाउँपालिकामा १८, १९ र २७ वर्षका पुरुषहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय रामघाट पोखराले जनाएको छ ।

उनीहरु भारतबाट आएर विनयत्रिवेणीकै क्वारेन्टाइनमा बसेको जनाइएको छ । उनीहरू तीनै जनालाई रजहरको सामुदायिक प्राकृतिक चिकित्सालयमा ल्याएर राख्ने तयारी गरिएको नवलपुरका जनस्वास्थ्य प्रमुख केशव चापागाईंले जानकारी दिए । चापागाईंका अनुसार १७ दिनअघि नेपाल आएका उनीहरूको अवस्था सामान्य छ ।

यस्तै बागलुङको ताराखोला गाउँपालिकामा ३९ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशक डा. शर्माले जानकारी दिए ।

कोरोना संक्रमण पुष्टि भएका सबैलाई जिल्ला अस्पतालका आइसोलेसनमा लैजाने तयारी भइरहेको उनले जानकारी दिए ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्