युट्युबमा रमाउँदै अभिनेत्री केकी

कृष्णराज सर्वहारी


२४ जेठ, काठमाडौं-
कोरोना महामारीको लकडाउनमा धेरैजना खुम्चिएर बसेका छन्। आफूले गरेका भातभान्सादेखि कौसी खेती गरेको तस्बिर कतिपयले अपलोड गरिरहेका छन्। अभिनेत्री केकी अधिकारीले भने लकडाउनको सदुपयोग गर्दै आफूले गरेको सिर्जनात्मक गतिविधिको युट्युब बनाउन थालेकी छन्।

केकी अधिकारी अफिसियल नामबाट उनले एक साता पहिले प्रिमियर गरेको ‘माई लस्ट डायरीः पेज नं. वान’ झन्डै १६ हजारले हेरेका छन्। करिब साढे आठ मिनेटको यो युट्युबमा उनले बाल्यकालमा सँगै हाँसखेल गर्ने कक्षा १ देखिसँगै पढ्ने युक्ता प्रधान बालसखाको सम्झना समेटेकी छन्।

आफ्नो पहिलो बेस्ट फ्रेन्ड युक्तासँग दुई दशकदेखि बिछोडिनु पर्दाको पीडा केकीले साटेकी छन्। फेसबुकमा उनको नामबाट सर्च गर्दा फेला पार्न नसकेपछि तनावमा हुन्छिन्। अन्ततः लकडाउनमा फुर्सदै फुर्सदका बेला उनी प्रिय साथीको खोज अभियानलाई जारी राख्छिन्। र, फेला पार्छिन् फेसबुकमा इन्द्रेणीको नामबाट।

इन्द्रेणीले केकीलाई भन्छिन्, ‘मैले तिम्रा हरेक क्रियाकलाप नियालिरहेकी छु। खाली तिम्ले चिन्दिनौ कि भन्ने डरले सम्पर्क गर्न नसकेकी। ’ त्यसपछि केकीको प्रतिक्रिया हुन्छ, आखिर यस्तै अलमलले सम्बन्ध छुट्ने रहेछ।

इन्द्रेणीसँगको भेटको खुसीले रमाएकी उनलाई खुसी हुन ठूलो पदक नचाहिने रहेछ भन्ने लाग्छ। उनी सुझाव दिन्छिन्, हामी यस्तै गरौं, छुटेकालाई खोजौं। लकडाउनले छिमेकी पनि बोर भएका होलान्। छतमा गएर मुस्कान साटौं। सामाजिक दूरी कायम राख्दै, मनको दूरी कम गरौं।

केकी अधिकारी अफिसियल नामबाट उनले एक साता पहिले प्रिमियर गरेको ‘माई लस्ट डायरीः पेज नं. वान’ झन्डै १६ हजारले हेरेका छन्।
युट्युबको उनको डायरीमा हस्तलिखित पाना धेरैपल्ट दोहोरिन्छ। प्रतिक्रियामा कृष्ण पोख्रेलले लेखेका छन्, ‘ल नढाँटी भनिदिनुस् त।

यो अक्षर आफ्नै हो ? राम्री मान्छेको अक्षर नराम्रो। ’ त्यसैगरी आयुष देवानले विचार राखेका छन्, ‘मलाई तपाईंको सबैभन्दा मनपर्ने कुरा तपाईंको भ्वाइस हो, तपाईंको आवाज सुन्दा जति पीडा भए पनि मनमा शान्ति मिल्छ र सुनिरहुँ जस्तो लाग्छ। ’ अशु राईले ‘माई लस्ट डायरी युट्युबलाई गुड कन्सेप्ट भन्दै लेखेका छन्, ‘तपाईंको स्वर सुन्दा एकदम आनन्द मिल्छ फिलिममा होस् या रियल। ’ यसैगरी केहीले त उनीसँग आफ्नो युट्युब च्यानल सब्सक्राइब गर्न अनुरोध पनि गरेका छन्।

केकीले अन्नपूर्णसँग भनिन्, ‘माई लस्ट डायरी स् पेज नं. वान’ परीक्षणको रूपमा भाइको सहयोग लिएर अपलोड गरेकी थिएँ। श्रोताले मन पराई दिनु भएको छ। अब यसलाई नियमित अघि बढाउने हौसला मिलेको छ। ’ उनले आफूले गाएको, नाचेको भिडियो पनि अपलोड गर्दै जाने बताइन्। भन्छिन्, ‘लकडाउनले मानिसहरू मानसिक रूपले बिरामी जस्तै भएका छन्। उनीहरूको थोरै भए पनि मुड फ्रेसका लागि कथा, संस्मरणलगायत सिर्जनात्मक भिडियो पोस्ट गरिरहनेछु। ’

केकीले प्रत्येक मंगलबार साँझ ६ देखि ७ बजे एक घण्टा चलाउने फेसबुक लाइभ साबुनपानी अन्ताक्षरी कार्यक्रमअन्तर्गत कमेडियन हिमेश पन्तदेखि सुमन कोइराला (दले दाइ) को पनि युट्युब अपलोड गरेकी छन्। त्यस्तै, गीत सुटिङका क्रममा अमेरिका गएको बेला न्युयोर्क सहरको भिडियो कोरोना महामारीअघि मैले जे देखें शीर्षकमा पनि युट्युब बनाएकी छन्।

त्यसो त केकीले कोरोना टक कार्यक्रम पनि सुरु गरेकी छन्। अधिवक्ता प्रवीण सुवेदीसँग धरधनी र डेरावाल सम्बन्ध विषयमा केन्द्रित उनको कुराकानी अपलोड भएको छ। कोरोना टक कार्यक्रमअन्तर्गत नै उनले बिहीबार मात्रै कांग्रेसका युवा नेता गगन थापासँग कुराकानी गरेकी छन्।

केही समय पहिले बाबासँग कथा सुन्दै दिन बिताइरहेको जानकारी केकीले फेसबुकमा पोस्ट गरेकी थिइन्। लकडाउनमा आफूलाई सिर्जनात्मक काममा लगाए मुड फ्रेस हुने उनको अनुभव छ। लकडाउन सकिएर नर्मल अवस्था आएपछि सुटिङमा व्यस्त भए पनि युट्युबलाई निरन्तरता दिने उनको भनाइ छ। भन्छिन्, ‘युट्युबमा खासै समय खर्च नहुने रहेछ। ’ –अन्नपुर्ण पोष्टबाट

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्