जेठ २४, कैलाली– शनिबार साँझ थप चार जनामा कोरोना पुष्टि भएसँगै सुदूरपश्चिम प्रदेशमा सङ्क्रमितको सङ्ख्या एक सय नौ पुगेको छ । यसअघि अपराह्न १३ जनामा कोरोना पुष्टि भएको थियो ।
धनगढीको कोरोना परीक्षण प्रयोगशालामा चार जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताउनुभयो ।नयाँ सङ्क्रमित चारै जना कैलालीको गौरीगङ्गा नगरपालिकाका हुन्, नगरपालिकाका १६, १८, २७ र ३० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।
यसअघि आज नै बझाङका ६, कैलाली र काठमाण्डौका दुईरदुई, अछाम, कञ्चनपुर, डडेल्धुराका एकरएक जनामा कोरोना पुष्टि भएको थियो । कञ्चनपुरको महाकाली अस्पतालमा गरिएको परीक्षणमा महाकाली नगरपालिका का ३८ वर्षीय पुरुष तथा काठमाण्डौको कागेश्वरी मनहरा नगरपालिका ९ का १८ र ३८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।
अछामको मङ्गलसेन नगरपालिका १ की ५२ वर्षीया महिला र धनगढी उपमहानगरपालिका ४ की ५५ वर्षीया महिलामा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ ।सुदूरपश्चिममा पहिलो पटक सुत्केरीलाई कोरोना पुष्टि भएको छ । डडेल्धुरामा एक सुत्केरीलाई कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको हो । अस्पतालका निमित्त मेसु डाक्टर जगदिश विष्टले नवदुर्गा गाउँपालिका ४ सिरोडकी २१ वर्षीया महिलालाई कोरोना पुष्टि भएको जानकारी दिनुभयो ।
गएको जेठ २१ गते सुत्केरी हुन सिरोडको क्वरेण्टीनबाट डडेल्धुरा अस्पताल पुग्नुभएकी उहाँको २२ गते पीसीआर परीक्षणको लागि स्वाब सङ्कलन गरेर धनगढी प्रयोगशाला पठाइएको थियो । २३ गते सुरक्षित तरिकाले अस्पतालमा शिशु जन्माउनुभएकी उहाँको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । कोरोना रिपोर्ट पोजेटिभ आएपछि उहाँसहित शिशुलाई अस्पतालाको आइसोलेशनमा भर्ना गरिएको मेसु विष्टले जानकारी दिनुभयो ।
यस्तै बझाङको खप्तडछान्ना गाउँपालिकाका ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै बझाङमा सङ्क्रमितको सङ्ख्या सात पुगेको छ । शुक्रबार कोरोना पुष्टि हुनेमा २५, ३८, ५७, र ७० वर्षीय पुरुष तथा २ जना ४० वर्षीया महिला रहेका छन । उनीहरूमध्ये पाँच जना भारतको दिल्लीबाट एक हप्ता अगाडि धनगढीको त्रिनगर भन्सार नाका भएर आएको र एक जना २५ वर्षीय पुरुष २ हप्ता अघि काठमाण्डौबाट बझाङ भित्रिएको जिल्ला अस्पताल बझाङका कोरोना फोकल पर्सन डाक्टर मिलन खड्काले बताउनुभयो ।
सङ्क्रमितलाई खप्तडछान्ना गाउँपालिकाले बनाएको आइसोलेशनमा राखिएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको डाक्टर खड्काले जानकारी दिनुभयो ।
सुदूरपश्चिमका एक सय ९ जना सङ्क्रमितमध्ये एक सय पाँच जना प्रदेशभित्रै रहेका छन् भने दुई जना सङ्क्रमितको मृत्यु भइसकेको छ । दुवै जनाको मृत्यु भइसकेपछि मात्र रिपोर्ट आएको हो ।
त्यस्तै एक जना बझाङ र एक जना बाजुराका सङ्क्रमितको भने कर्णाली प्रदेशमा उपचार भइरहेको छ । सङ्क्रमितमध्ये १८ जना प्रदेशभित्रका विभिन्न अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।
सबैभन्दा बढी कैलालीका ४६, अछामका १५, कञ्चनपुका १३, डोटीका १०, डडेल्धुरा र बझाङका सातरसात, बैतडीमा ६, बाजुराका तीन र दार्चुलाका एक जनामा कोरोना पुष्टि भएको छ ।
अहिलेसम्म धनगढीको प्रयोगशालाबाट ९२, सुर्खेतको प्रयोगशालाबाट १२, र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट पाँच जनामा कोरोना पुष्टि भएको छ ।