नेपाल संस्कृत विश्वविद्यालयका लेक्चरर हरिप्रशाद खतिवडाले शिखरिणी छन्दमा रचना गर्नु भएको कविता यस्तो छ । यस कवितामा उनले मानव जीवनको विगत र वर्तमान अवस्थाको चित्रण गरेको छन् ।
जहाँ बाबा आमा सब जनहरू हर्षित थियौँ ।
घरै थ्यो माटैको अनि पनि तहाँ दङ्ग नि थियौँ ।।
कमेरोको माटो टलटल गरी टल्कन गई ।
सबै दङ्गै पर्थ्यौँ हृदयविचमा हर्षित भई ।।१
अहा! कस्तो राम्रो सुखसयलको जीवन थियो ।
बिताएको हाम्रो कनक सरिको त्यो वय थियो ।।
न चिन्ताका धर्सा न त तनमहा रोग थरिका ।
न ता आफन्तैका विविध थरिका चाहहरू ता ।।२
ललाटैमा मिल्थ्यो चमक चमकैको चमकता ।
थियो बोली उस्तै खररर सरीको सरसता ।।
मनैमा उत्साहै अतिदृढ गरी व्याप्त सरिको ।
सबै त्यो उत्साहै अलिअलि गरी जीर्ण हुन गो ।।३
शरीरैमा आए क्रमिक गतिले रोगहरु ती ।
भए आँखा मेरा अलिअलि गरी तेज कम ती ।।
कपालैको कालो क्रमिक गतिले स्वेत हुन गो ।
सबै यो देख्दामा मन विकल मेरो अति भयो ।।४
भयो खाना मेरो कमकम भई निश्चित भयो ।
बढाई खाएमा उदर बिचमा दुन्दुभि बज्यो ।।
कमै जो खाएमा भननन गरी कम्पन हुने ।
सबै इच्छा त्यागी सकल जनमा सामिल हुने ।।५
म सोच्थेँ त्यो बेला सकल घरको चातुर भनी ।
म खान्थेँ त्यो बेला विविध थरिक अन्नहरु ती ।।
म डुल्थेँ त्यो बेला सबतिर गई मस्तसँगमा।
कहाँ मिल्छन् होला उस समयका ती क्षण यहाँ ।।६
जबानीको चढ्दो तनमन सबै उत्सुक थियो ।
म सोच्थेँ त्यो बेला सकल दुनियाँ नै बस छ यो ।।
कुनै कामै गर्दा दृढ मन लिई उत्सुक भई ।
म गर्थेँ त्यो बेला हरतरहका कार्यहरु ती ।।७
थिए भाई बैनी अतिनिकट मेरा पनि जहाँ ।
सबै साथी सङ्गी मनविच रहेका पनि तहाँ ।।
भए टाढा टाढा सब जनहरू यो समयमा ।
सबै यो देख्दामा मन पनि त रोयो क्षण महा ।।८
बितेका कालैको स्मरण नि गरी हर्ष मनले ।
सुनौलो मानेरै गदगद भएँ त्यो समयले ।।
कहाँ मिल्छन् होला उस अवधिका शैशव कला ।
न ता किन्दा मिल्छन् त्यस समयका सुन्दर छटा ।।९
सबैले भोग्ने हो अघि र पछि मात्रै बुझिलिनू ।
म यस्तो उस्तो हूँ फगत कहँदै व्यर्थ नभनूँ ।।
विधाता सामूमा सब जनहरू शून्य सरि हौँ।
सबै गर्वै त्यागी अबुझपन छोडी अघि बढौँ ।।१०