चुनाव लड्न नपर्ने अर्थमन्त्रीले सरकार र पार्टीलाई संकटमा पार्दैछन् : नवीना लामा

काठमाडौँ — अर्थमन्त्री युवराज खतिवडाले सरकार र पार्टीको विचारधारलाई संकटमा पार्दै लगेको सांसद नवीना लामाले बताएकी छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा उनले शिक्षाबारे अर्थमन्त्रीले लिएको नीतिको आलोचना गर्दै नेकपाको घोषणापत्र र संविधान हेर्न सुझाव दिएकी छन् ।

मन्त्री खतिवडालाई लक्षित गर्दै लामाले भनिन्, ’अर्थमन्त्री चुनावमा लड्नु हुँदैन भनेर होला सरकार र पार्टीको विचारधारालाई समेत संकटमा पार्ने काम गर्नु हुँदैनथ्यो । अर्थमन्त्रीज्यू, यस्तो काम कहिले पनि गर्नु हुँदैन ।’

बजेटको १६६ धारामा सामुदायिक विद्यालयको शैक्षिक स्तरोन्नती गर्ने जिम्मेवारी नीजि क्षेत्रबाट संचालित विद्यालयलाई दिने भन्ने उल्लेख छ । उक्त योजना आफूले प्रस्ताव नगरेको शिक्षामन्त्री गिरिराजमणि पोखरेलले विज्ञप्ति जारी गरेर जानकारी गराएका छन् । उक्त योजनाको प्रतिरक्षा अर्थमन्त्री खतिवडाले गर्दै आएका छन् । त्यसैले उनी सांसदहरूको आलोचनाको केन्द्रमा परेका हुन् ।

सांसद लामाले मन्त्रीद्वय खतिवडा र पोखरेलले उक्त योजनाका लागि संसदमा आत्मआलोचनासहित माफी माग्नुपर्ने बताएकी छन् । ’त्यो नीति नेकपाको विचारधारा विपरीत छ । शिक्षा र अर्थमन्त्रीले संसदमा आत्माआलोचनासहित माफी माग्नुपर्छ,’ उनले सरकारलाई प्रश्न गरिन्, ’नेकपाको समाजवादको शिक्षानीति यहिँ हो ?’ यो नीति मूला रोपेर आलु फलाउने भनेर दिएको गफजस्तो भएको उनको टिप्पणी थियो ।

लाखौं विद्यार्थी एसईई परीक्षा र कक्षा कहिले संचालन होलान् भनेर निराश हुँदै कुरिरहेको अवस्थामा बजेटले त्यसबारे केही कुरा उल्लेख नगरेको उनको भनाइ थियो ।

बजेटबारे लामाको टिप्पणी थियो, ’नेपालको संविधानले समाजवाद स्थापना गर्ने भनिराख्दा, चुनावी घोषणापत्र स्मरण गरिराख्दा यो बजेट दुवै कोणबाट च्युत भएको देखिन्छ ।’ संविधानले माध्यमिक तहसम्मको शिक्षा निःशुल्क र अनिवार्य भनेको तथा निजी क्षेत्रबाट संचालित शैक्षिक संस्थाहरूलाई नियमन गर्ने एवं सेवामुखी बनाउने भनिरहेका बेला शिक्षाबारे बजेटले लिएको नीति सही नभएको बताइन् ।

केही नयाँ विश्वविद्यालय स्थापना गर्ने घोषणा सही भएको तर भएका विश्वविद्यालयलाई कसरी राम्रो बनाउने भन्ने नीति नभएको उनले बताइन् । -कान्तिपुर

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्