जागिरबाट निकालिएपछि अस्पतालका कर्मचारीद्वारा जिउमा आगो लगाएर आत्मदाहको प्रयास

२६ जेठ, काठमाडौं । अछामको बयलपाटा अस्पतालका एक कर्मचारीले आफ्नै जिउमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन् ।

अस्पतालको सेवाबाट निकालिएका २७ वर्षका सफाइ कर्मचारी सिद्धार्थ आहुजीले सोमबार विहान ९ बजेतिर आफ्नै जिउमा आगो लगाएका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए । उनको अवस्था गम्भीर रहेको र उपचारका लागि कोहलपुर मेडिकल कलेज पठाइएको उनले बताए ।

साँफेबगर नरपालिकाका मेयर कुलबहादुर कुँवरका अनुसार उनीसहित ३३ जनालाई केही दिनअघि तीन महिनाको समय दिएर सेवा मुक्त गर्नको लागि निवेदन दिइएको थियो । सोही कारणदेखाएर उनले आत्मदाहको प्रयास गरेको हुनसक्ने उनको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी पौडेलले आत्मदाह गर्नुको कारण नखुलेको बताए । ‘के कारणले हो भन्ने खुलेको छैन, तर अस्पतालको करार अवधि थप नभएको देखियो’ उनले भने ।

गम्भीर घाइते आहुजीको सुरुमा बयलपाटा अस्पतालमा नै उपचार गरिएको थियो । तर सुविधासम्पन्न अस्पतालमा उपचार आवश्यक देखिएकाले हेलिकप्टरमार्फत कोहलपुर पठाइएको प्रजिअ पौडेलले बताए ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्