थाइल्याण्डमा छोरीहरुसँग हिमानीको टिकटक डान्स, पारसले गरे सेयर

विश्वभर युवापुस्ताबीच अत्यधिक लोकप्रिय बनिरहेको एप हो टिकटक । लकडाउनमा त झन् यो एपको प्रयोगकर्ता ह्वात्तै बढेका छन् ।

यही चिनियाँ एपमा प्रवेश भएको छ, पूर्व यूवराज्ञी हिमानी शाहको । उनले दुई छोरीहरुसँग एउटा गीतमा नृत्य गरिरहेको भिडियो टिकटकमा सार्वजनिक भएको छ ।

‘गुराँसको फेदमुनि‘.’ बोलको गीतमा हिमानीले दुई छोरी पूणिर्का र कृतिकासँग नृत्य गरेकी हुन् । तीनैजना कालो पोशाकमा सजिएका छन् र एउटै वान्कीमा कम्मर मर्काएका छन् । पूणिर्का साहको अकाउन्टबाट अपलोड भएको यो भिडियो केही घन्टामै भाइरल बनेको छ ।

हिमानीका पति पूर्व युवराज पारस शाहले पनि यो भिडियो ‘मेरो परिवार’ भन्दै लभ रियाक्टसहित फेसबुकमा सेयर गरेका छन् ।

पूणिर्काले भिडियोको क्याप्सनमा लेखेकी छन्, ‘यो (डान्स स्टेप) हामीले आमाबाट पाएका हौं । हामीसँग साँच्चै गजबकी आमा हुनुहुन्छ ।’

भिडियोमा पूर्व नवयुवराज हृदयन्द्र भने देखिएका छैनन् । यो भिडियोलाई अहिलेसम्म करिब ८ हजारले लाइक गरेका छन् भने करिब ५ सय कमेन्ट आएका छन् । कमेन्टमा सबैले उनीहरुको सुन्दरता र नृत्यको तारिफ गरेका छन् ।

पूर्व युवराज्ञी हिमानी र उनका तीन छोराछोरी अहिले थाइल्यान्डमा छन् । उच्चशिक्षा अध्ययनका लागि त्यहाँ रहेका छोराछोरीलाई भेट्न गएकी हिमानी लकडाउनका कारण उतै अड्केकी हुन् ।

त्यहाँ उनी छोराछोरीसँग रमाइरहेको यो टिकटक भिडियोबाट पनि थाहा हुन्छ । हिमानीका पति पूर्व युवराज पारस भने नेपालमा विभिन्न युवतीसँग बरालिएर हिँडिरहेका छन् ।

नेपालका टिकटक प्रयोगकर्ताहरुबीच पूर्वराजपरिवारको निकै ठूलो क्रेज छ । पूर्वयूवराज पारस साहका थुप्रै भिडियो टिकटकमा भेटिन्छन्, जुन अरु व्यक्तिहरुले हालिदिएका हुन्छन् । पारसका भिडियोले लाखौं लाइक्स पाएका छन् । उनको भिडियोमा आउने कमेन्टहरुमा भने गाली र ताली दुवै मिश्रति हुन्छन् ।

टिकटकमा सबैभन्दा बढि क्रेज चाहिँ पूर्व नवयूवराज हृदयन्द्रको छ । खासगरी टिनएजर केटीहरुले उनीप्रति आशक्त छन् । उनीहरुले हृदयन्द्रलाई ‘नेसनल क्रस’ को संज्ञा दिने गरेका छन् ।

हृदयन्द्रको आफ्नै टिकटक एकाउन्ट भने छैन । उनी निकटका व्यक्तिहरुले उनको भिडियो बनाएर टिकटकमा अपलोड गर्छन् ।

पूणिर्काले चाहिँ केही दिनअघि आफ्नै टिकटक अकाउन्ट बनाएकी हुन् । उनको अकाउन्टबाट ६ वटा भिडियो पोष्ट भएका छन् । उनका फलोअर्स १२ हजार ८ सय पुगेका छन् भने कुल २१ हजार ४ सय लाइक्स प्राप्त गरेकी छन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्