नक्कली स्वास्थ्यकर्मी बनेर चामलको बोरामा लागूऔषध बोक्ने पक्राउ

राजविराज- चामलको बोरामा प्रतिबन्धित लागूऔषध ओसारपसार गर्ने एक नक्कली स्वास्थ्यकर्मी पक्राउ परेका छन् ।

ल्याब असिस्टेन्टको नक्कली परिचयपत्र बोकेका सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहका २२ वर्षीय अनीलकुमार मण्डल ठूलो परिमाणको लागू औषधसहित सोमबार पक्राउ परेको सप्तरी प्रहरीले जनाएको छ ।

स्वास्थ्यकर्मी लेखिएको बा. ६७ प ४८५३ नम्बरको मोटरसाइकलमा रहेको चामलको बोरामा लागूऔषध फेला परेको डिएसपी तिलक भारतीले बताए । अर्कैको नामको ल्याब असिस्टेन्टको परिचयपत्र साथमा राखेका उनको मोटरसाइकलमा बाँधेको बोरा चेकजाँच गर्दा चामलभित्र लागूऔषध फेला परेको हो ।

बन्दाबन्दीको समयमा स्वास्थ्यकर्मीलाई हिंडडुल गर्न रोकटोक नहुने भएकाले मण्डलले नयाँ उपाय अपनाएको प्रहरीले अनुमान गरेको छ । चामलभित्र स्पास्मो प्रोक्सिभन प्लस ३ हजार १ सय ६८ क्याप्सुल र एक सय मिलिलिटरको २८ बोतल डाइलेक्स डिसी बराममद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । प्रहरी निरीक्षक सन्तोषकुमार खड्काको नेतृत्वमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा मण्डललाई सप्तरीको बिष्णुपुर गाउँपालिका १ खुरहुरियाबाट पक्राउ गरिएको हो ।

मोटरसाइकल र लागूऔषधसहित पक्राउ परेका मण्डललाई सप्तरी जिल्ला अदालतबाट सोमबार २५ दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्