महाकाली अस्पतालबाट ४ जना कोरोना संक्रमित डिस्चार्ज

महेन्द्रनगर ३२ जेठ ।

महाकाली उप्र प्रादेशिक अस्पतालबाट चार जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । आईतबार अस्पतालले १४ सम्म आईशोलेसन बसेका चार जनालाई डिस्चार्ज गरेको हो । उनिहरुलाई कोरोना परिक्षण नगरिकनै अस्पतालबाट डिस्चार्ज गरिएको हो । ।

अस्पतालले स्वास्थ्य मन्त्रालयको नयाँ निर्देशिका बमोजिम १४ दिन कटेका र लक्षण नदेखिएका संक्रमितहरुलाई डिस्चार्ज गरेको हो ।

अस्पतालले नयाँ निर्देशिका बमोजिम उनीहरुको नेगेटिभ रिजल्ट कुर्नु नपर्ने देखिएकाले डिस्चार्ज गरिएको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही जेठ २० गते जारी गरेको कोभिड–१९ केश आइसोलेसन व्यवस्थापन सम्बन्धि निर्देशिकामा लक्षण तथा चिन्ह नदेखिएका केशको हकमा आइसोलेसन बसेको १४ दिनपछि छोड्न मिल्ने उल्लेख छ ।

अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डा.हरिकुमार श्रेष्ठले स्वास्थ्य मन्त्रालयको सोही निर्देशिकालाई टेक्दै १४ दिन अस्पतालको आइसोलेसनमा बसिसकेका तर कुनै लक्षण नदेखिएका ४ जनालाई डिस्चार्ज गरिएको जानकारी दिए । उनका अनुसार ती ४ जनालाई एम्बुलेन्स राखेर पठाइएको हो ।

‘संक्रमितहरु बढ्दै गएपछि स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशिकाले नै १४ दिन कटाएर लक्षण नदेखिएकालाई पठाउन भनेको छ । त्यही अनुसार डिस्चार्ज गरिएको हो,’ मेसु डा. श्रेष्ठले भने ।

अस्पतालको आइसोलेसनमा राखिए पछि पछिल्लो पटक पीसीआर परीक्षण नगरिएको उनले बताए । यसअघि दुई पटक कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि मात्रै डिस्चार्ज गर्ने गरिएको थियो । त्यसो गर्दा लामो समय संक्रमितहरुले आइसोलेसनमा बिताउने गरेका थिए ।

केसहरुको संख्या बढेसँगै स्वास्थ्य मन्त्रालयले लक्षण नदेखिएका विरामीहरुलाई घरमै आइसोलेसन राख्ने निती अनुरुप नयाँ निर्देशिका जारी गरेको हो । अस्पतालले आइतवार काठमाडौँ कागेश्वरी नगरपालिकाका २ जना र कञ्चनपुरको भीमदत्त नगरपालिका र महाकाली नगरपालिका एकरएक जनालाई १४ दिन कटेको र लक्षण पनि नदेखिएको भन्दै डिस्चार्ज गरेको हो ।

उनीहरुलाई दुई हप्ताजति होम क्वारेन्टिन तथा आइसोसनमा बस्न, अरुसँग घुलमिल नहुन, पौष्टिक खानेकुरा खान र चिकित्सकको नियमित सम्पर्कमा रहन भनि सम्झाई बुझाई पठाइएको छ ।

स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशिकाको घरमै आइसोलेसनमा बस्दा पालना गर्नुपर्ने कुराहरु उल्लेख छन् । जसमा हावा खेल्ने तथा प्रर्याप्त प्रकाश आउने छुट्टै कोठाको व्यवस्था हुनुपर्ने, उपचार अवधिभर बाहिर ननिस्कने र आवश्यक सामाग्री परिवारका सदस्यहरुमार्फत मगाउने, पर्याप्त मात्रामा पानी, झोलिलो र पोसिलो खानेकुरा खाने, प्रयोग गरेको भाडाहरु सुरक्षित रुपमा सफा गर्ने र राम्रो सुकेपछिमात्रै प्रयोग गर्ने उल्लेख छ ।

यस्तै स्नानघर, शौचालयको छुट्टै व्यवस्था मिलाउने, सामुहिक रुपमा प्रयोग गर्नुपर्ने अवस्थामा राम्रोसँग सरसफाई गर्ने, व्यक्तिगत सामाग्रीहरु अरुलाई प्रयोग गर्न नदिने, हातधुने साबुन र पञ्जाको पर्याप्त व्यवस्था गर्नुपर्ने, दिनमा कम्तीमा ३ पटक ज्वरो जाँच गरी रेकर्ड राख्ने, हरेक दिन दुईपटक आफ्नो स्वास्थ्य अवस्थाबारे सम्बन्धित स्वास्थ्यकर्मीलाई फोन तथा एसएमएसबाट जानकारी गराउने आदि उल्लेख छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्