प्रधानसेनापति थापा र सशस्त्र प्रहरी महानिरीक्षक खनाल दार्चुलाको छाङरु प्रस्थान

काठमाडौँ — प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरीका महानिरीक्षक(आईजीपी) शैलेन्द्र खनाल भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी नजिकै स्थापना गरिएको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट र सेनाको अस्थायी बेस निरीक्षणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् ।

फाइल तस्बिर स् दार्चुलाको व्यास गाउँपालिका–२ घाँटीबगर इलाकाको थी भन्ने ठाउँमा सकड निर्माण कार्यका लागि फौज तैनाथ गर्दै नेपाली सेनाको एम आई–१७ हेलिकप्टर

गत वैशाख ३१ गते सरकारले दार्चुलाको छाङरुमा सशस्त्रको बीओपी र जेठ ७ गते घाँटीबगरमा सेनाको अस्थायी बेस स्थापना गरेको थियो । सीमा सुरक्षाका लागि बीओपी र दार्चुला–तिंकर सडक निर्माण सुरक्षार्थ सेनाको अस्थायी बेस स्थापना गरिएको थियो ।

दुवै युनिट निरक्षणका लागि प्रधानसेनापति थापा र सशस्त्रका आईजीपी खनाल बुधबार बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् । काठमाडौंबाट धनगढीसम्म सेनाको स्काई ट्रक र धनगढीबाट सेनाकै हेलिकप्टरमार्फत दार्चुलाको छाङरु जान लागेका हुन् ।

दुवै सुरक्षा प्रमुखले सीमा सुरक्षा र सीमाको अवस्थाबारे प्रमुख जिल्ला अधिकारी र जिल्ला सुरक्षा प्रमुखसँग जानकारी लिने स्रोतले बतायो ।

भारतले सीमा अतिक्रमण गरेको क्षेत्रसहित दार्चुलाको अपि नाम्पा संरक्षण क्षेत्रमा समेत सेनाको टोली खटाउनेबारे छलफल भइरहेको छ । त्यस्तै नेपाल–चीन व्यापारिक नाका तिंकर भञ्ज्याङमा सशस्त्रको बीओपी स्थापना गर्ने पनि तयारी छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्