महाकाली अस्पतालबाट १३ जना कोरोना संक्रमित डिस्चार्ज

कञ्चनपुर — महेन्द्रनगरस्थित महाकाली अस्पतालबाट थप १३ जना डिस्चार्ज भएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि यहाँ भर्ना भएका उनीहरुलाई १४ दिन आइसोलेसनमा राखेर बुधबार डिस्चार्ज गरिएको हो ।

महाकाली अस्पतालका अनुसार डिस्चार्ज हुनेमा कञ्चनपुरको लालझाडी गाउँपालिका ४ का एक पुरुष, पुनर्वास नगरपालिका ५ र ९ का ५ पुरुष तथा कैलालीको गौरीगंगा नगरपालिका ४ का ७ पुरुष डिस्चार्ज भएका हुन् । उनीहरु सबै जनालाई सम्बन्धित स्थानीय तहले नै बुझेर लगेको अस्पतालले जनाएको छ ।

‘१४ दिनसम्म अब्जरभेसनमा राखेर डिस्चार्ज गरिएको हो’, महाकाली अस्पतालका डा सरोज आचार्यले, ‘आइसोलेसनमा रहँदासम्म कुनै लक्षण देखिएन र सबैको अवस्था पनि सामान्य रहेको छ ।’

उनका अनुसार डिस्चार्ज भएका सबैजना जेठ २१ गते महाकाली अस्पतालको आइसोलेसनमा भर्ना भएका हुन् । उक्त अस्पतालबाट सोमबार पनि ११ महिनाको बालक र आइतबार ४ गरी ५ जना डिस्चार्ज भएका थिए ।

लक्षण नदेखिएका बिरामीलाई १४ दिन आइसोलेसनमा राखेर डिस्चार्ज गर्ने स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ निर्देशिकाअनुसार महाकाली अस्पतालले पनि परीक्षणबिना नै संक्रमितहरुलाई डिस्चार्ज गरिरहेको छ ।

अस्पतालको आइसोलेसनमा अहिले पनि ६ महिलासहित ३३ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । उनीहरु सबैको अवस्था सामान्य रहेका डा. आचार्यले बताए ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्