पढ्दै नपढी एमसीसीको विरोध गरिदैँ छ : प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी ओलीले जसरी पनि विरोध गर्न पाए हुन्थ्यो भन्ने चिन्तनले एमसीसी सम्झौताको विरोध भइरहेको बताएका छन्। राष्ट्रियसभामा बिहीबार विनियोजन विधेयकमाथि सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले एमसीसी सम्झौताको गलत व्याख्या गर्न थालिएको दाबी गरे। सत्तासीन नेकपाभित्रै एमसीसीको तीव्र विरोध भइरहेको छ।

‘एमसीसी पढेका मान्छे मैले त्यति भेटिनँ’, उनले भने, ‘एमसीसी सम्झौता खोजेर, ल्याएर पढे हुन्छ। पढ्नेभन्दा हल्लाका भरमा कुद्ने र जसरी भए पनि विरोध गर्न पाए भयो भन्ने कस्तो चिन्तन हो ? ’ खुट्टाले टेकेर हिँड्न छाडेर हातले टेकेर हिँड्ने अभ्यास गर्न किन जरुरी परेको भन्दै ओलीले भने, ‘खुट्टाले टेकेर हिँड्नुपर्छ। खुट्टाले टेकेर हिँड्ने भनेको जे त्यसमा छ, ठीक बेठीक यहाँ छ भनेर भन्नु एउटा कुरा हो तर लहैलहैमा लौ अमेरिकी सेना आउने भयो रे ? कस्तो अचम्मको कुरा ? ’

सम्झौताको गलत व्याख्या गर्न थालिएको भन्दै असन्तुष्टि जनाएका प्रधानमन्त्री ओलीले भने, ‘कहाँ पढ्छन्, के पढ्छन् अचम्म लाग्छ मलाई। कागले कान लग्यो भन्दा लाँदा त दुख्छ होला नि। दुख्या छैन, सुन नै कागले लग्यो भन्यो भने पनि कान त छाम्नुप¥यो नि। दुख्या, नदुख्या मतलब नगर्ने, छ कि छैन भनेर पनि कान नछाम्ने? अनि लहैलहमा कुदने। यो प्रवृत्ति बडा अचम्म लाग्छ मलाई।’

आफ्नै पार्टीदेखि सडकसम्म एमसीसीको विरोध गर्न थालिएकोमा आक्रोश पोख्दै उनले भने, ‘पढे हुन्थ्यो नि सम्झौतामा के लेख्या छ। कि देशमा विकास हुन आँट्यो भन्ने चिन्ता हो ? कि देशमा विकासका लागि अनुदान आयो भन्ने चिन्ता हो ? ’

उनले जनताका प्रतिनिधिले इतिहासमा दर्ज हुने कुरालाई ख्याल गरेर बोल्नुपर्ने बताए। महाकाली सन्धि हुँदा पनि ठूलो आँधी, हुरी, बन्डरी मच्चिएको र पछि केही पनि नभएकोतर्फ स्मरण गर्न उनले सांसदहरूको ध्यानाकर्षण गराए। उनले कोरोनाका कारण ज्यान गुमाएका भनिएका २२ जनाको अरु कारणले पनि ज्यान गएको दाबी गरे। अरु रोग वा कारणले निधन भए पनि कोरोना संक्रमण देखिएका व्यक्तिको निधन भए कोरोनाले नै निधन भएको भनेर मान्नुपर्ने विश्व स्वास्थ्य संगठनको मापदण्ड रहेको उनले बताए।

कोरोेना रोकथाम, नियन्त्रण र उपचारमा १० अर्ब खर्च भएको र त्यसलाई अनावश्यक रूपमा उछाल्ने काम भइरहेको उनले दाबी गरे। ‘उछाल्नेहरुलाई त सजिलो छ, उछाल्न। खै १० अर्ब भनेर’, उनले भने, ‘त्यो तल पठाइयो। महिनौंदेखि मान्छे खटेका छन्, यही काममा।’

कोरोना रोकथाम, नियन्त्रणको नाममा जनप्रतिनिधिले पैसा खाए भनेर आरोप लगाउनु मात्र उचित नभएको ओलीले बताए। ‘बहुतै कष्टका साथ जनप्रतिनिधिहरुले काम गरिरहेका छन् ओलीले भने, ‘उनीहरुको अपमान हुने गरेर नबोलौं।’

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्