क्वारेन्टिनमै लाइभ म्युजिक, जुम्बा डान्स र योग

७ असार, सुर्खेत । कोरोना भाइरसको सम्भावित संक्रमितलाई राखिने क्वारेन्टिनहरु व्यवस्थित नहुँदा त्यहाँ बस्ने व्यक्तिहरु अत्यासलाग्दो दैनिकी बिताइरहेका छन् । समुदायमा हुन सक्ने सम्भावित संक्रमण जोगाउन जोखिम क्षेत्रबाट आएकाहरुलाई क्वारेन्टिनमा राखे पनि कतिपय ठाउँमा क्वारेन्टिनमै कोरोना संक्रमण हुने जोखिम छ ।

यस्ता कारणले गर्दा क्वारेन्टिनमा बस्नेहरुमा चिन्ता लाग्ने, भोक र निन्द्रा नलाग्ने, बेचैनी र उदासिनताजस्ता मनोसामाजिक समस्या देखिन थालेको मनोचिकित्सकहरू बताउँछन् । कर्णालीका क्वारेन्टिनबाट भाग्ने, आन्दोलित हुने र स्थानीय जनप्रतिनिधिमाथि हातपातमा उत्रिने जस्ता घटना पनि देखिएका छन् ।

सुर्खेतका केही युवाले क्वारेन्टाइनमा राखिएका व्यक्तिको तनाव कम गर्न, मनोरञ्जन प्रदान गर्न र उनीहरुको मनोबल उच्च बनाउँन लाइभ कन्सर्ट, जुम्बा डान्स प्रदर्शन र योग तथा मनोविमर्श सेवा दिन थालेका छन् ।

‘डान्स फिभर’को क्वारेन्टिनमा जुम्बा

जुम्वा टिम ‘डान्स फिभर एकेडेमी एण्ड जुम्बा फिट्नेसले’ले वीरेन्द्रनगरका विभिन्न क्वारेन्टिनमा जुम्बा डान्स सिकाउँदै आएको सञ्चालक प्रिया केसीले बताइन् ।

‘धेरैले क्वारेन्टिनमा बसेकालाई राहतस्वरुप चाउचाउ र विस्कुट बाँडिरहेका छन् । हामी पनि क्वारेन्टिनमा केही दिन चाहन्थ्यौं, तर अरुले भन्दा फरक, तयसैले आफूसँग भएकै सीप दिन थाल्यौं,’ उनले भनिन् ।

केसीले अगाडि भनिन्, ‘जब हामी गीतको धुनमा नाच्न थाल्छौं, उहाँहरु खुसीले चिच्च्याउँदै नाचेको दृश्यले हामीलाई झनै प्रेरित ग¥यो । जानी नजानी हामीसँगै नाच्नु हुन्छ ।’

प्रियासँगै केशव थापा, पारु केसी, कृति गुभाजु शाक्य र यशोधा केसीले जुम्बा डान्स सिकाउँछन । प्रिया भन्छिन्, ‘घरमा पनि बाहिर निस्किँदा अभिभावकहरु डराउनुभएको छ । तर हामी सबै सावधानी अपनाएर हिँडिरहेका छौं ।’

‘पाशुपत’को योग

वीरेन्द्रनगर (८, मा रहेको ‘पशुपत सिद्व महायोग’मा आवद्ध युवाले वीरेन्द्रनगर नगरपालिका र प्रदेश सरकारले वीरेन्द्रनगरमा निर्माण गरेको विभिन्न क्वारेन्टिनमा प्रत्येक बिहान योग सिकाउँदै आएको छ ।

सिद्व महायोगका सदस्य हरि उपाध्यायले भने, ‘तनाव र चिन्ता लिन्न भनेर पनि त हुन्न । त्यसैले उहाँहरुलाई योग र ध्यान गराएर मानसिक रुपमा तनाप र शरीर व्यवस्थापन गराउँदै आएका छौं ।’

उपाध्यायसहित पाँच जनाको टिमले योग सिकाउँदै आएको छ ।

सिम्तामा मनोविमर्श कक्षा

सिम्ता गाउँपालिकाले पनि क्वारेन्टिनमा रहेका व्यक्तिहरूलाई मनोविमर्श कक्षा सञ्चालन गरिसकेको छ । गाउँपालिकाका अध्यक्ष कवीन्द्रकुमार केसीले ४८ स्थानमा रहेका झण्डै २४ सय ६१ जनालाई टीपीओ नेपालको सहकार्यमा काउन्सिलिङ गरिएको जानकारी दिए ।

क्वारेन्टाइनमा बसेकाहरूमा तनाव र आक्रोश देखिने गरेकाले मनोविमर्शका कक्षाहरू सञ्चालन गरिएको उनले बताए ।

‘द ब्लूम्स ब्यान्ड’को लाइभ कन्सर्ट

सुर्खेत वीरेन्द्रनगर नगरपालिका(६ का युवाहरूको ‘द ब्लूम्स ब्यान्ड’ र ‘जेपर ब्यान्ड’ले वीरेन्द्रनगरका क्वारेन्टिनमा लाइभ कन्सर्ट गर्दै आएको छ । पाँच दिनयता क्वारेन्टिनमा बसेकाहरुलाई संगीतको माध्यमबाट मनोरञ्जन दिने र मनमा रहेको त्रास हटाउने काम गरिरहेको द ब्लूम्स ब्याण्डका सदस्य सुरज विश्वकर्मा बताए ।

दुल्लुमा योग र मनोसामाजिक परामर्श

दैलेखको दुल्लु नगरपालिकाले पनि आइसोलेसनमा उपचारत कोराना संक्रमितलाई योग गराउने र मनोसामाजिक परामर्श दिने गरेको छ । नगरपालिका र आयुर्वेद औषधालयद्वारा मनोसामाजिक परामर्शसहितको योग गराउने गरिएको हो । योग र काउन्सिलिङले रोगसँग लड्ने क्षमता बढाउनुका साथै मानसिक तनावबाट मुक्त गराउने नगर प्रमुख घनश्याम भण्डारीले बताए ।

जुम्लामा मनोसामाजिक परामर्श कक्षा

जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल र बहुसांस्कृतिक मनोसामाजिक संस्था (टीपीओ) नेपालले क्वारेन्टिनमा बसेकाहरूलाई मनोसामाजिक परामर्श कक्षा सञ्चालन गरेको छ । प्रतिष्ठानका मनोचिकित्सक डा. प्रविण गिरीको संयोजकत्वको टोलीले क्वारेन्टाइनमा मनोसामाजिक परामर्श दिन थालेको हो ।

क्वारेन्टिनमा बस्नुपर्दा कतिपयमा मानसिक समस्या देखएका कारण परामर्श दिन थालिएको टीपीओ नेपाल जुम्लाका मनोविमर्शकर्ता नन्दराज आचार्यले बताए । उनका अनुसार चन्दननाथ नगरपालिका(१ देखि १० वडासम्म क्वारेन्टिनमा बस्ने व्यक्तिलाई मनोसामाजिक परामर्श दिन सुरु गरिएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्