देशभरि वर्षा, सतर्कता अपनाउन आग्रह

मनसुनको प्रभावले देशका अधिकांश भूभागमा वर्षा भइरहका कारण नदी तथा खोलामा आकस्मिक बहाव आउन सक्ने भन्दै जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

वर्षाका कारण देशभरिका नदी तथा खोलामा पानीको सतह पनि बढ्न थालेको छ । तर, सबै नदी तथा खोलामा पानीको सतह सतर्कता विन्दुभन्दा तलै छ । आकस्मिक बहावको जोखिम भने रहेको महाशाखाले जनाएको छ ।

आज बिहानको मापन अनुसार सप्तकोशी, बागमती, नारायणी, बबई, तिनाउ, कर्णाली र तिनका सहायक नदीमा बहाव बढ्दो क्रममा छ । कन्काई, कमला, पश्चिम राप्ती, महाकाली र तिनका सहायक नदीमा बहाव घट्लो क्रममा छ ।

आज बागमती, बबई, पश्चिम राप्ती र नारायणी तथा तिनका सहायक नदीमा बहाव बढ्ने महाशाखाले जनाएको छ । यी नदी आसपास क्षेत्रमा बसोबास गर्ने तथा तटीय सडकमा यात्रा गर्नेलाई सजकता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

महाशाखाले प्रदेश ५, गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश २ र प्रदेश १ का केही स्थानमा आज भारी वर्षाको सम्भावना भएको जनाएको छ। जसकारण ती क्षेत्रका नदीमा पानीको बहाव बढ्ने र पहिरो जाने संभावना छ । काठमाडौँ उपत्यकामा आज रातिदेखि नै वर्षा भइरहेको छ ।

अहिले सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, मकवानपुर, सिन्धुली र काठमाडौँ उपत्यकामा वर्षा भइरहेको छ । त्यस्तै नवलपरासी, रुपन्देही, कपिलबस्तु, दाङ, अर्घाखाँची, गुल्मी, पाल्पा, स्याङजा, बर्दिया र आसपास क्षेत्रमा मध्यम तथा भारी वर्षा भईरहेको छ । ती जिल्ला भएर बहने खोलामा बहाव बढ्ने र केहीमा सतर्कता तहसम्म पुग्न सक्ने महाशाखाले जनाएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्