डब्ल्यूएचओ नेपालको अपिल : कोरोना महामारी सकिएको छैन, सतर्कता अपनाऔं

८ असार, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को नेपाल कार्यालयले कोभिड–१९ को महामारी कायमै रहेकाले पर्याप्त सर्तकता अपनाउन सार्वजनिक रुपमा अपिल गरेको छ ।

नेपाल सरकारले लडकडाउन खुकुलो बनाए पनि कोभिड–१९ को महामारी टरिनसकेकाले सतर्कता अपनाउनुपर्ने संगठनका प्रमुख डाक्टर जोस भ्यान्डेलरले बताए । उनले भने, ‘हामीले याद गर्नुपर्ने के हो भने महामारी अझै पनि छ र हामी अझै पनि संक्रमित हुन सक्छौं । तसर्थ हामी अलि होसियार हुनु जरुरी छ ।’

लकडाउन खुकुलो भएसँगै कार्यालयहरू सञ्चालनमा आएको तथा मानिसहरूको एक आपसमा भेटघाट बढेको भन्दै उनले सबै आफ्नो तर्फबाट सर्तक हुनु जरुरी रहेको बताए ।

संक्रमण नियन्त्रणका लागि प्रत्येक व्यक्तिले आफ्नो जीवनशैली र कार्यशैलीमा परिर्वतन ल्याउनुपर्नेमा उनले जोड दिए । मानिसहरूको भिडभाडमा नजाने, जानै परे दुरी कायम गर्ने, मास्क लगाउने तथा बेलाबेलामा साबुन पानीले हात धुन आग्रह गरे ।

डब्ल्यूएचओका भ्यान्डेलरले भनेका छन्, ‘भाइरस नियन्त्रण गर्नका लागि लकडाउन एउटा उपाय थियो भने अर्को उपाय भनेको हामीले नियमहरू पलना गर्नु हो ।’

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्