पूर्वराजा ज्ञानेन्द्रको प्रश्न: युवाहरू किन सडकमा उत्रिरहनुपर्छ ?

१० असार, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना भाइरसको महामारी कारण जनताले भोग्नुपरेको समस्या समाधान गर्न आग्रह गरेका छन् । शाहले बुधबार सन्देश जारी गर्दै कोरोनाबाट मृत्यु भएकाहरूप्रति श्रद्धा व्यक्त गरेका छन् भने संक्रमितको स्वास्थ्य लाभको कामना गरेका छन् ।

अहिले चुनौतीसँग अवसर पनि आएको भन्दै उनले विभिन्न कारणले स्वदेश फर्किएकाहरूलाई देशभित्र इलम, उद्यम र कामधन्दाको व्यवस्था मिलाउनुपर्नेमा जोड दिएका छन्।

सन्देशमा उनले थुप्रै प्रश्न उठाएका छन् । उनले भनेका छन्, हाम्रो देशभक्ति, स्वाधीन स्थिति एवं स्वाभिमानमाथि बारबार किन प्रश्न, सन्देह र विवाद विग्रह उत्पन्न हुन्छ ? जनताको सुरक्षा, स्वास्थ्य र जीविकाका विषयमा किन अलमल, असन्तोष र आक्रोश उठिरहन्छ ? रोगको महामारी, राष्ट्रियताको संकट, सीमा समस्या, राष्ट्रहितविरुद्धका सन्धि सम्झौता तथा हत्या, हिंसा र आत्महत्या जस्ता जल्दाबल्दा र दुस्खद् विषय सन्दर्भमा पनि किन सधैंभरि विवाद आइरहन्छ ?

भ्रष्टाचार, लापरवाही, पक्षपातजस्ता विषय पनि आइरहेको भन्दै उनले भनेका छन्, ‘यस्ता यावत विषयलाई लिएर हाम्रा होनहार युवाहरू, तमाम देशभक्त स्वतन्त्र नागरिकहरू सडक संघर्षमा किन उत्रिरहनुपर्ने अवस्था सिर्जना भइरहन्छ ? यो सोचनीय विषय भएको उनले बताएका छन् ।

अहिले आरोप प्रत्यारोप वा निषेध प्रतिरोधको भावनाले कसैको हित नगर्ने भन्दै पूर्वराजा शाहले गौरवमय इतिहासलाई स्वीकार गरेर जान सक्नुपर्ने बताएका छन् । ‘राष्ट्रियता नै हाम्रो मूल मन्त्र हो र एकता नै हाम्रो शक्ति हो । यही ऐतिहासिक सम्पत्तिको जगेर्ना गर्दै अतीतबाट पाठ सिक्दै अघि बढ्नु नै हाम्रो राष्ट्रिय कर्तव्य र धर्म हो ।’

साथै, उनले असारमा पर्ने आफ्नो जन्मदिनलाई उत्सवका रुपमा नमनाउने निर्णय गरेको समेत बताएका छन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्