भारतको धौलीगंगा बाँध खोलिंदै, सतर्क रहन आग्रह

दार्चुला, ११ असार- भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलिने भएको छ । नएचपीसी लिमिटेड र धौलीगंगा पावरस्टेसनले दिएको जानकारी अनुसार धौलीगंगा जलविद्युत परियोजनाको बाँध सोमबार राती १२ बजे खोलिने भएको छ ।

एनएचपीसी लिमिटेड, धौलीगंगा पावरस्टेसन, धारचुला, पिथौरागढ भारतबाट प्राप्त पत्रअनुसार असार १५ गते राति १२ बजेदेखि १६ गते बेलुकी ६ स् ४५ बजेसम्म शिल्ट फ्लशिङ्ग र सरसफाइ गरिने भएकाले त्यसपश्चात महाकाली नदीमा जलस्तर बढ्ने भएकोले सतर्क रहन आग्रह गरिएको हो ।

ढोका सोमबार रातीदेखि खोलिने भएको हुँदा व्यास गाउँपालिकाको वडा नं ५ धौलाकोटदेखि लेकम गाउँपालिकाको लालीसम्मका नदि तटीय क्षेत्रका बासीन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

दार्चुलादेखि बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततीर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्नसक्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाइराख्नसमेत नेपाल र भारतका स्थानीय प्रशासनले अनुरोध गरेका छन् । परियोजनाले बाधँमा पानीको मात्रा बढ्ने भएकोले बेलाबेलामा नियमित सरसफाइ गर्नुपर्ने भन्दै बाँध खुला गर्ने गरेको छ ।

पछिल्लो समय भारतीय प्रशासनले नेपाली प्रशासनलाई पूर्व सुचना गराउन थालेपछि पूर्वसतर्कता अपनाउन सजिलो भएको छ । सोही अनुसार नेपाली प्रशासनले नदी आसपासका बासिन्दालाई बाध खोलिने बारे जानकारी गर्दै आइरहेको छ ।

धौलीगंगाबाट २ सय ८० मेगावाट बिजुली

दार्चुला र धारचुलाबाट करिब १८ किलोमिटर उत्तर(पश्चिममा भारतले धौलीगंगा नदीमा जलविद्युत उत्पादनका लागि बनाएको बाँध बाट २ सय ८० मेगावाट शक्ति उत्पादन हुँदै आएको छ ।

धौलीगंगा र महाकाली नदीको संगम तावाघाटको नेपाल भारत सीमाबाट ६ किलोमिटर टाढा रहेको ५६ मिटर अग्लो र ३ सय १५ मिटर लामो यो नियन्त्रण ढोकायुक्त बाँध हो । बाँधले छेकिएको पानी ७० मिटरसम्म गहिरो छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्