कञ्चनपुरका १०६ कोरोना संक्रमितलाई पनि क्वारेन्टिनमै राखियो, संक्रमणको जोखिम बढ्यो

महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिकाका कोरोना संक्रमितलाई लक्षण नदेखिएको भन्दै क्वारेन्टिनमा नै राखिएको छ ।

बुधवार र बिहिवार कोरोना संक्रमण पुष्टि भएका कृष्णपुर नगरपालिकाका एक सय ६ संक्रमितलाई अस्पताल नल्याएर क्वारेन्टिनमै राखिएको हो ।

महाकाली अस्पतालको आइसोलेसन खाली रहेको अवस्थामा पनि कृष्णपुरका संक्रमितलाई अस्पताल ल्याएको छैन् । ५० शैया क्षमताको आइसोलेसन रहेको महाकाली अस्पतालमा अहिले १७ जना संक्रमित मात्रै उपचाररत छन् ।

अस्पतालको आइसोलेसनका ३३ शैया खाली छन् । यद्यपी संक्रमितलाई भने क्वारेन्टिनमै हुलिएको छ । लक्षण नदेखिएकाले स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार संक्रमितलाई अस्पताल नपठाइएको कृष्णपुर नगरपालिकाका नगर प्रमुख कर्ण बहादुर हमालले बताए ।

कृष्णपुर नगरपालिकामा कोरोना संक्रमितको संख्या एक सय ८ छ । दुई दिन अगाडि शुन्य संक्रमित रहेको कृष्णपुरमा संक्रमित ह्वात्तै बढेर जिल्लाभरका संक्रमितको झण्डै आधा पुगेको हो ।

जिल्लाभर कोरोना संक्रमितको संख्या २ सय ६१ जना पुगेको छ । कृष्णपुरका दुई जना दीर्घरोगी समेत रहेका संक्रमितलाई महाकाली अस्पताल पठाइएको नगर प्रमुख हमालले बताए ।

अरु सबै संक्रमित भने आफु बसेको क्वारेन्टिनमै रात काट्दै छन् । संक्रमण पुष्टि भए पछि छुट्टै आइसोलेसनमा राख्नु पर्ने भए पछि कृष्णपुरमा भने संक्रमितलाई अहिलेसम्म आइसोलेसनमा ल्याइएको छैन् ।

५०/५० शैयाका तीन आइसोलेसन तयार भएकाले संक्रमितलाई भोली त्यहाँ सारिने नगर प्रमुख हमालले बताए । कृष्णपुर नगरपालिका–१ पहरियामा राष्ट्रिय माध्यमिक विद्यालय, वडा नम्बर ४ को कृष्ण माध्यमिक विद्यालय र ८ नम्बर वडाको विणा माध्यमिक विद्यालय रैकवारमा ५०र५० शैयाको आइसोलेसन तयार भएको छ ।

कोरोना संक्रमितको संख्या बढेसँगै स्वास्थ्य मन्त्रालयले लक्षण नदेखिएका बिरामीहरुलाई घरमै आइसोलेसन राख्ने नीतिअनुरुप नयाँ निर्देशिका जारी गरेको छ ।

सो निर्देशिकामा घरमै आइसोलेसनमा बस्दा पालना गर्नुपर्ने नियमहरु तोकिएको छ । तर क्वारेन्टिन अव्यवस्थित हुँदा त्यहाँ बसेका कृष्णपुर नगरपालिकाका संक्रमितले भने त्यो नियम पालन गर्न समेत नपाएको गुनासो गरेका छन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्