कञ्चनपुरमा रिपोर्ट नआउँदै आइसोलेसनबाट घर पठाइएका १३ जनामा कोरोना संक्रमण पुष्टी

महेन्द्रनगर १२ असार ।

कञ्चनपुरको महाकाली नगरपालिकास्थित दोधारा–चाँदनीका १३ संक्रमित कोरोना परीक्षण पीसीआर रिपोर्ट नआउँदै घर पठाइएको खुलेको छ ।

शुक्रवार दोधारा–चाँदनीका १३ जनामा संक्रमण पुष्टि भएको थियो । १४ दिन क्वारेन्टिन र १५ दिन आइसोलेसन बसाई पछि स्वाब संकलन गरेर घर पठाइएको महाकाली नगरपालिकाका कोभिड–१९ फोकल पर्सन जय बहादुर महराले बताए ।

उनीहरुमा शुक्रवार संक्रमण पुष्टि भएको हो । ‘पीसीआर रिपोर्ट आउन ढिलाई भयो, १४ दिन क्वारेन्टिन र १५ दिन आइसोलेसन बसाई पछि कोही हिजो कोही अस्ती घर गइसकेका थिए, आज रिपोर्ट आयो ।’ कोभिड–१९ फोकल पर्सन महराले भने, ‘संक्रमितमा कुनै किसिमको लक्षण देखिएको छैन् । अब संक्रमण अर्को व्यक्तिमा सार्न सक्दैनन् । त्यसैले उहाँहरुलाई होम आइसोलेसनमा राख्छौँ ।’

संक्रमितलाई पीसीआर रिपोर्ट आउन ढिलाई हुँदा स्वाब संकलन पछि भानु उच्च माध्यमिक विद्यालयको आइसोलेसनबाट घर पठाइएको थियो । महाकाली नगरपालिका–६, ७, ९ र १० का २ महिला ११ पुरुष गरी १३ जनामा संक्रमण पुष्टि भएको थियो ।

नगरपालिकाको विभिन्न क्वारेन्टिनमा रहेका उनीहरुलाई आरडिटी पोजेटिभ पछि भानु उच्च माध्यमिक विद्यालयको आइसोलेसनमा राखिएको थियो । झण्डै १८ दिन पछि उनीहरुको कोरोना परीक्षण रिपोर्ट आएको हो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्