कृषि मन्त्रालयले भन्यो: नेपाल आएको सलहको बथान सानो छ, नआत्तिनुस्

१४ असार, काठमाडौं । भारतमा सलह किराको ठूलो बथान सक्रिय भएकाले त्यसको गतिविधिमा निगरानी गर्न नेपाल सरकारले संयुक्त राष्ट्र संघ र भारतीय अधिकारीहरुसँग समन्वय गर्ने भएको छ ।

कृषि मन्त्रालयमा आइतबार विज्ञहरुसँगको छलफलपछि कृषिमन्त्री घनश्याम भुसालले यो जानकारी दिएका हुन् ।

विज्ञहरुले भारतको राजस्थानबाट सलह किराको अझै ठूलो मुभमेन्ट हुने देखिएको जानकारी गराएका थिए । विज्ञहरुको भनाइ सुनिसकेपछि मन्त्री भुसालले सलहको सो बथान नेपाल आउँछ कि आउँदैन भनेर भारतको कृषि मन्त्रालयका अधिकारीहरु र संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनका अधिकारीहरुसँग समन्वय गरेर ट्र्याकिङ गर्ने बताए ।

हालसम्म नेपालमा देखिएको सलह किराको बथान सानो रहेको र यसले धेरै क्षति नपुर्याएको भन्दै कृषि मन्त्रालयले किसानहरुलाई नआत्तिन भनेको छ । नेपाल प्रवेश गरेका सलह, सलह पुगेको जिल्ला, त्यसले पुर्याएको क्षति, ती सलहको सम्भावित यात्रालगायतका विषयमा विस्तृत विवरण मन्त्रालयले आइतबारै पत्रकार सम्मेलन गरेर जानकारी दिने मन्त्री भुसालले बताए ।

किसानका लागि हटलाइनको व्यवस्था

विज्ञहरुसँगको छलफलपछि मन्त्री भुसालले सलह किरा कुन–कुन स्थानमा देखिएको छ भनेर किसानहरुबाट जानकारी लिन हटलाइनको व्यवस्था गर्ने बताए ।

एउटा टेलिफोन नम्बर मन्त्रालयले व्यवस्था गर्ने र त्यसमा फोन गरेर किसानहरुले सलह किराबारे जानकारी दिन सक्ने मन्त्री भुसालको भनाइ छ ।

कृषि मन्त्रालयले गृह र विपद व्यवस्थापन समितिसँग सम्बन्धित समितिसँग समन्वय गरेर सलहलाई नियन्त्रण गर्ने जनाएको छ । गृह र विपदसँग समन्वय गरी सलह नियन्त्रण गर्न विषादी छर्किनुपर्ने भए ड्रोन, ट्यांकर लगायतको व्यवस्था गरिने मन्त्री भुसालले बताए ।

सलह नियन्त्रणका लागि खर्चको व्यवस्थापन गर्ने जिम्मा कृषि मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीलाई दिइएको छ । अन्तरमन्त्रालय समन्वय गरी सलह नियन्त्रणको बजेट व्यवस्था गर्न मन्त्री भुसालले सचिव भारीलाई निर्देशन दिएका हुन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्