मलाई हटाउने खेल सुरु भयो तर त्यो असम्भव छ: प्रधानमन्त्री ओली

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई हटाउने खेल सुरु भए पनि त्यो असम्भव रहेको बताएका छन् । मदन भण्डारीको ६९औं जन्मजयन्तीको अवसरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूलाई हटाउन होटलमा गतिविधि भएका र दूतावास सक्रिय भएको दाबी गरेका हुन् ।

भारतद्वारा अतिक्रमित नेपाली भूमि समेटेर नक्सा छापेपछि आफूविरुद्ध षड्यन्त्र भएको उनको दाबी छ । उनले आजका लागि नभई भोलिका लागि पनि आफू प्रधानमन्त्रीको जिम्मेवारीमा रहनुपर्ने बताए ।

‘अहिले केपी ओलीलाई हटाउनुपर्छ भनेर खुला दौडधूप भएका छन् । भित्रभित्र यस्तो अपराध गर्ने मान्छेलाई राख्नुहुन्न भन्न थालिएको छ । नक्सा छापेकोलाई अपराध भनेका छन् । मलाई हटाउन होटलहरुमा गतिविधि भएका छन् । राजदूतावासमा सक्रियता बढेको छ,’ ओलीले भने ।

ओलीले नक्सा छापेबापत कसैले प्रधानमन्त्रीलाई हटाउँछु भनेर सोचेको भए पनि नेपालको राष्ट्रियता कमजोर नभएको बताए । उनले भने, ’नक्सा छापेबापत प्रधानमन्त्रीलाई कसैले हटाउँछु भनेको छ भने नेपालको राष्ट्रियता त्यति कमजोर छैन, तुरुन्तै मलाई हटाउन सकियोस् । कसैले नसोचे हुन्छ । कसैले हतारो नगरे पनि पनि हुन्छ ।’

प्रधानमन्त्री ओलीले आफूलाई प्रधानमन्त्रीको जिम्मेवारीमा बस्न मन नभए पनि अहिले हटिँदिदा आगामी दिनमा नेपालको पक्षमा बोल्दा अर्को प्रधानमन्त्री हट्नुपर्ने अवस्था आउने बताए ।

’मलाई प्रधानमन्त्रीको जिम्मेवारीमा बस्ने मन छैन । तर अहिले हट्ने हो भने भने भोलि कोही नेपालको पक्षमा बोल्दा अर्को दिन हट्छ । आफ्ना लागि होइन देशका लागि, आजका लागि होइन भोलिका लागि म प्रधानमन्त्रीको जिम्मेवारीमा रहनुपर्छ ।’

त्यस्तै प्रधानमन्त्री ओलीले नेकपा र संसदीय दल पनि कसैको बहकावमा नकुद्‍ने बताए । उनले भने, ’नेकपा पार्टी र संसदीय दल पनि बहकावमा कुद्‍दैन । यति बुझे हुन्छ, नक्सा भूलचुकले छापिएको होइन ।’

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्