नेविसंघका नेताहरुलाई थर्काउँदै देउवाले भने ‘बढ्ता जान्ने भइहाल्नुपर्ने ? लाज छैन’

१९ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भाषण मात्र गर्दै हिँडेको भन्दै नेविसंघका नेताहरुलाई सार्वजनिक कार्यक्रममै थर्काएका छन् ।

पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको ९६औं जन्मजयन्तीमा नेविसंघले शुक्रबार शान्तिबाटिकामा राखेको रक्तदान कार्यक्रममा देउवालाई बोलाइएको थियो । कार्यक्रममा साढे २ मिनेट सम्बोधन गरेका देउवाले नेताहरुलाई थार्काएका छन् ।

‘सोसल डिस्ट्यान्स भनेको छ, टाँसिएर बसेको छ यहाँ । लाज पनि छैन, बोल्दा ढंग पनि छैन’ भन्दै सम्बोधन सुरु गरेका उनले महामारीका बेला भाषणबाजीको कार्यक्रम नराख्न आग्रह गरे । खतरा रोग आएको भन्दै उनले भने, ‘कहिलेकाहीँ कार्यक्रम नगरे पनि हुन्छ ।

ठुलो गाउँमा सानो कार्यक्रम गरे हुन्छ, अहिले सबैले कार्यक्रम गर्न छाडिसकेका छन् । हामीले मात्रै गर्नुपर्ने ? बढ्ता जान्ने भइहाल्नुपर्ने ? विद्यार्थीलाई जम्मा पारेर भाषण गरिहनल्नु पर्ने ?’

नैनसिंह महर नेतृत्वको कार्यसमितिले अधिवेशन गर्न नसकेपछि देउवाले रुचाएका राजीव ढुंगानालाई सभापति बनाइएको छ भने भागबन्डाका आधारमा उपसभापति, महामन्त्री चयन गरिएको छ भने केन्द्रीय समितिले पूर्णता पाएको छैन ।

कार्यक्रममा पूर्वमहामन्त्री मनोजमणि आचार्यले नेविसंघलाई पार्टी नेतृत्वले भुत्ते बनाएको तथा संगठनलाई पूर्णता नदिएको बताएका थिए, तर देउवाले उल्टै थर्काएका छन् ।

नेवि संघ, तरुण दल सबैले पूर्णता पाउने बताए । केही समस्या रहेको भन्दै उनले भने, विद्यार्थीहरु मिलेको भए समस्या नै हुने थिएन नि । आफैं झगडा ग¥याग¥यै छन् ।’

एक समय नेवि संघको सभापति भएर आएको आफू चार पटक प्रधानमन्त्री भएको भन्दै उनले भने, ‘तपाईहरु कोही हुनसक्नुहुन्छ भोलि यस्तै हिसावले ? लाज पनि छैन ।’

उनले पहिले नेवि संघलाई बलियो बनाउन र स्कुल कलेजमा जित्न आग्रह गरे । ‘जहाँ पनि हा¥या हा¥यैं छन् । लाज पनि छैन,’ देउवाले नेवि संघका नेताहरुलाई भनेका छन् ।

उनले नेवि संघ स्कुलहरुमा कहाँ छ भनेर प्रश्न समेत गरे । यसअघिका सभापतिहरुलाई पनिस्कुलमा नेवि संघ बनाउनुस् भन्दा नसुनेको भन्दै उनले भने, ‘काठमाडौं आएर बढ्ता भाषण गरेर केही हुने बाला छैन, गाउँमा जाउ गाउँमा ।’

उनले अघि भने, ‘गाउँमा जाऊ, स्कुलमा नेवि संघ बनाएर देखाऊ । केही नगर्ने, अनि मसँग कुरा गर्ने ?’

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्