ओली–दाहालबीच बालुवाटारमा ‘वान अन वान’ वार्ता

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच ‘वान अन वान’ वार्ता शुरु भएको छ। अध्यक्षद्वयबीच केहीबेर अघि बालुवाटारमा एक्लाएक्लै वार्ता शुरु भएको दाहालका प्रेस संयोजक विष्णुप्रसाद सापकोटाले बताए।

उनका अनुसार, दुई अध्यक्षबीच मात्रै वार्ता हुनेछ। सोमबारको वार्ता सकारात्मक भएकाले आजको वार्तामा अजेण्डामा छलफल हुने संभावना छ। यसअघिका छलफल भने निकै तिक्ततापूर्ण हुने गरेको थियो।

दुई अध्यक्षबीच सोमबार छलफलको वातावरण बनेको थियो। पार्टी एकता कायम राख्न आवश्यक छलफल गर्ने र अन्य शीर्ष नेताहरुसँग पनि संवाद गर्नेगरी भेटवार्ता सकिएको थियो।

मदन भण्डारीको जन्मजयन्तीका अवसरमा १४ असारमा प्रधानमन्त्री ओलीले आफूलाई हटाउन भारतीय दूतावास सक्रिय भएको र नेपालका नेताहरुले राजीनामा मागेको अभिव्यक्ति दिएपछि नेकपा विभाजनकै संघारमा देखिएको छ।

प्रधानमन्त्री ओलीकै निर्देशनमा काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा युवा तथा विद्यार्थीले प्रदर्शन गरिरहेका छन् भने अर्का पक्षले एकताका लागि भन्दै पार्टी कार्यालयमा धर्ना दिइरहेका छन्।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्