मासुका लागि जनावर मारिरहे अरु धेरै रोग मान्छेमा सर्ने विज्ञहरुको चेतावनी

जनावरबाट मान्छेमा सर्ने टीबी, रेबिज जस्ता रोगबाट विकासोन्मुख देशमा वर्षेनी करीब २० लाखको मृत्यु हुन्छ। जनावरमाथिको हिंसात्मक व्यवहारकै कारण यस्ता रोग मान्छेमा सर्ने विज्ञहरुको भनाइ छ।

जंगली जनावर मार्ने अथवा तिनहरुमाथि उत्पीडनका कारण मान्छेले अरु धेरै जुनोटिक रोगहरुको सामना गर्नुपर्ने संयुक्त राष्ट्र संघको पर्यावरण सम्बन्धि एक संस्थाका विज्ञहरुले चेतावनी दिएका छन्।

पछिल्ला वर्षहरुमा जनावर तथा पक्षीबाट मानिसमा फैलने रोग बढिरहेका छन्। विज्ञानको भाषामा यस्ता रोगलाई ‘जूनोटिक’ भनिन्छ। संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम तथा अन्तराष्ट्रिय पशुपालन अनुसन्धान संस्थाको प्रतिवेदन अनुसार कोरोनाभाइरस जस्तो खतरनाक संक्रमणका लागि वातावरण बिनास, प्राकृतिक स्रोतको लगामरहित दोहन, जलवायु परिवर्तन र जंगली जनावरमाथिको उत्पीडन जिम्मेवार छन्।

मान्छेले वातावरण र जंगली जनावरलाई नबचाए थप रोगहरुको सामना गर्नुपर्ने वातावरण तथा स्वास्थ्य विशेषज्ञहरुले चेतावनी दिएका छन्। संयुक्त राष्ट्रसंघको प्रतिवेदनका अनुसार प्रोटिनको माग बढेका कारण जनावरहरुलाई मार्ने गरिएको छ। यसको परिणाम मान्छेहरुले भोग्नु परिरहेको छ।

जनावरबाट सर्ने अलग अलग प्रकारका रोगबाट संसारभर प्रत्येक वर्ष करीब २० लाख मान्छेको मृत्यु हुन्छ। पछिल्ला केही वर्षमा मान्छेमा जनावरबाट हुने रोग बढ्दै गएको छ। इबोला, बर्ड फ्लु र सार्स जस्ता रोग जनावरबाटै मान्छेमा सरेका हुन्।

यी रोग पहिला जनावरमा हुन्छ। जब मान्छे ती जनावरको संसर्गमा पुग्छ, अनि मान्छेमा सर्छ। यस्ता अधिकांश रोग भाइरसजन्य छन्। धेरै त जनावरको मासु खान मार्दा मान्छेसँगको संसर्गका कारण सर्ने गर्छ।

त्यसकारण संयुक्त राष्ट्रसंघको प्रतिवेदनमा भनिएको छ कि जुनोटिक रोगको कारण मान्छे स्वयम् हो। जनावरप्रति मान्छेले गरेको दुव्र्यवहारकै कारण रोग फैलने गरेको छ।

यूएन वातावरणीय कार्यक्रमका कार्यकारी निर्देशक इन्गर एन्डर्सनका अनुसार पछिल्लो १०० वर्षमा भाइरसबाट हुने कम्तीमा ६ प्रकारका खतरासँग मान्छेले जुध्नु परेको छ। मध्यम अथवा निम्न आय हुने देशमा प्रत्येक वर्ष कम्तीमा २० लाख मान्छे पशुबाट सर्ने टीबी, रेबिज लगायत जुनोटिक बिरामीका कारण मर्ने गरेका छन्।

उनका अनुसार पछिल्लो ५० वर्षमा मासुको उत्पादन २६० प्रतिशतले बढेको छ। यस्ता समुदाय पनि छन् जो खानाका लागि घरपालुवा वा जंगली जुनै भए पनि जनावरमा मात्र निर्भर छन्। अर्को खतरा भनेको खेती बढाउने नाममा जंगली जनावरको बासस्थान नष्ट भइरहेको छ। जसकारण जनावर र मान्छेको संसर्ग बढेको छ।

-बीबीसीबाट

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्