बनारसमा नेपालीको जबरजस्ती मुण्डन, ‘जय श्री राम’ लेखेर प्रधानमन्त्री ओलीलाई चेतावनी

साउन २ गते काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि भगवान राम नेपाली भएको भनेर दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै भारतमा विश्व हिन्दू सेनाले एक नेपाली युवकमाथि चरम अत्याचार गरेको छ । विश्व हिन्दू सेनाले ती नेपाली युवकको जबरजस्ती मुण्डन गरेर उनलाई जय श्री रामको नारा लगाउन पठाएको थियो । विश्व हिन्दू सेनाका राष्ट्रिय अध्यक्ष अरुण पाठकले यस्तो गरेका थिए ।

घटनाको भिडियो सामाजिक संजालमार्फत जारी गरेका अरुण पाठकविरुद्ध प्रहरीमा उजुरी परेको भारतीय अखबार दैनिक जागरणले लेखेको छ । समाचारअनुसार पाठकविरुद्ध भेलपुर थानामा उजुरी परेको छ । प्रधानमन्त्री ओलीको अभिव्यक्तिसँगै विश्व हिन्दू सेनाले एक पोस्टर जारी गरेको थियो । पोस्टरमा प्रधानमन्त्री ओलीलाई माफी माग्दै आफ्नो भनाइ फिर्ता लिन अन्यथा भारतमा नेपालीले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिइएको थियो ।

यो चेतावनीपछि बिहीबार राष्ट्रिय अध्यक्ष पाठक स्वयंले बिहीबार ती नेपाली युवकलाई असी घाटमा समातेर जबरजस्ती मुण्डन गराइ टाउकोमा जय श्री राम लेखिदिएका थिए । ती युवकबाट जबरजस्ती ओली मुर्दाबाद, जय श्री राम जस्ता नारा लगाइएको थियो । यस सम्बन्धमा नगर पुलिस अधीक्षकले आरोपीविरुद्ध कारवाही गरिने बताएको समाचारमा जनाइएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्