१ सय नमुना विद्यालयको छनौटमा परे सुदूरपश्चिमका १६ मावि

सुदूरपश्चिम प्रदेशका १६ वटा विद्यालय नमुना विद्यालय विकासका लागि छनोट भएका छन् । प्रदेशका नौवटै जिल्लामा गरी उक्त संख्यामा विद्यालय छनोट भएका हुन् ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशभरका १ सय विद्यालय नमुना विकासका लागि छनोट गर्ने क्रममा सुदूरपश्चिमका १६ विद्यालय परेका हुन् ।

नमुना विद्यालय विकास एवं सञ्चालन निर्देशिका–२०७४ (पहिलो संशोधन–२०७५) अनुसार आवेदन दिने विद्यालयमा पर्याप्त सामग्रीसहितको प्रयोगशाला र कक्षा ११ र १२ मा अनिवार्यरूपमा विज्ञान विषयको पढाइलगायत विषयको सत्यपान गरी छनोट गरिएको शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका प्रमुख नरेन्द्र अवस्थीले बताउनुभयो ।

जसमा बैतडी, डडेल्धुरा, बझाङ, यसरी छनोट हुनेमा कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा, बाजुरा, बझाङका दुई–दुई विद्यालय रहेका छन् भने दार्चुला र अछामका एक–एक विद्यालय छन् ।

बैतडीका डिलेश्वरी मावि पुर्चौडी र दुर्गा मावि डिलाशैनी, दार्चुलाको गोकुलेश्वर मावि शैल्यशिखर, बझाङका भैरव मावि केदारस्युँ र कुलमष्टजन मावि मष्टा, डडेल्धुराका बालकल्याण मावि अजयमेरु, उग्रतारा मावि अमरगढी र डोटीका सीताराम मावि शिखर, खत्याडी मावि बोगटान फुड्सिल नमुनाका लागि छनोट भएका हुन् ।

यसका साथै अछामको जनता मावि मेल्लेख, बाजुराका मष्टेश्वरी मावि खप्तडछेडदह, बालबिकास मावि गौमुल, कैलालीका वसन्तमुरारी मावि बर्दगोरिया, रघुनाथ आदर्श मावि जोशीपुर र कञ्चनपुरका पुनर्वास मावि पुनर्वास र शारदा राष्ट्रिय मावि लालझाडी रहेका छन् ।

सार्वजनिक विद्यालय सुधारको अभियान घोषणा गरेको सरकारले सबै स्थानीय तहमा कम्तीमा एउटा नमुना विद्यालय बनाउने सरकारको योजना छ । सामुदायिक विद्यालयको गुणस्तर बढाउन केन्द्र, प्रदेश र स्थानीय सरकारले नमुना विद्यालय निर्माणलाई उच्च प्राथमिकता दिन थालेका हो ।

नमुना विद्यालयमा आवासीय सुविधा, पुस्तकालय, खेलमैदान, वैकल्पिक विद्युतीय व्यवस्था, घेराबार तथा बगैंचा, प्रशासनिक भवन, शिक्षण भवन तथा कक्षाकोठा, प्राथमिक उपचार तथा परामर्श कक्ष, विद्यालय संग्रहालय, प्रयोगशाला, अडिटोरियम हल, चमेनागृह, खानेपानी सरसफाइ तथा स्वच्छता सुविधा, व्यावसायिक कार्यशाला कक्ष आदिको प्रबन्ध हुने शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्